डा. केसीको माग पूरा गर्न सरकारले वार्ता सुरु गरेको छ : प्रधानमन्त्री
काठमाडौं। डा. गोविन्द केसी अनशन बसेको २३ दिनपछि प्रधानमन्त्री केपी शर्मा ओली चासो दिएका छन्। डा. केसीका मागहरू सम्बोधन गर्न सरकारले वार्ता सुरु गरेको प्रधानमन्त्री ओलीले बताएका छन्। मंगलबार अपरान्ह बालुवाटारमा आयोजित नेकपा सचिवालय बैठकमा नेकपाका नेताहरूले डा. केसीको जीवनरक्षक बारे चासो राखेपछि प्रधानमन्त्री ओलीले केसीका माग पूरा गर्न सरकारले वार्ता सुरु गरेको जवाफ दिएका हुन्।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को मंगलबार अपरान्ह बसेको सचिवालय बैठक अनशनरत डा. गोविन्द केसीमाथि नै केन्द्रित भएको थियो। सचिवालयका नेताहरूले डा. केसीको जीवन रक्षाबारे सरकारले ठोस् कदम चाल्नुपर्ने कुरा उठाएपछि बैठक त्यसबारे केन्द्रित भएको हो। ‘अरु विषयमा सामान्य कुरा मात्रै भयो। तर, बैठक लगभग डा. केसीबारे नै केन्द्रित हुन पुग्यो’ स्रोतले भने ‘प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले सरकारले गर्नुपर्ने पहल गरिरहेको जवाफ दिएका थिए। प्रधानमन्त्री ओलीले बैठकमा भने, शिक्षा सचिवलाई कुरा गर्न पठाएको छु, उहाँले पनि धेरै जिद्दी गर्नुभएन।’
सचिवालय बैठकमा नेताहरूले डा. केसीबारे आवाज उठाउनुभन्दा केही घण्टाअघि मात्रै प्रधानमन्त्री ओलीले शिक्षा सचिव गोपीनाथ मैनाली नेतृत्वको तीन सदस्यीय टोलीलाई डा. केसीसँग भेट्न अस्पतालमा पठाएका थिए। अपरान्ह बसेको सचिवालय बैठकमा नेताहरूले डा. केसीबारे चासो राखेका थिए।
मङ्गलबारको बैठकमा सहभागी नेताहरूले सहजकर्तालाई प्रयोग गरेर भए पनि समस्या समाधान गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको स्रोतले बताएको छ।
विभिन्न ६ बुँदे माग राख्दै डा. केसी २२ दिनदेखि अनशनरत छन्। १९औं पटक अनशन बसेका डा. केसीले यसपटक विकट क्षेत्रमा चिकित्सा शिक्षासहित कोरोना सङ्क्रमणबाट नागरिकको जीवन रक्षा गर्न पनि माग गरेका छन्।
केसी अनशन बसेको २३ दिन पछि बल्ल सरकारले चासो दिन थालेको हो।