दशैँ तिहार लक्षित सुपथ मूल्यका पसल असोज १५ देखि सञ्चालनमा
काठमाडौं। दशैँ तिहार लक्षित सुपथ मूल्य पसल आगामी असोज १५ गतेदेखि सञ्चालनमा आउने भएको छ।
सरकारी स्वामित्वका दुई व्यवसायिक संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले आगामी असोज १५ गतेदेखि मङ्सिर ७ गतेसम्म उपत्यका सहित देशैभरी सुपथ पसल सञ्चालन गर्ने भएका हुन्।
सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको बैठकबाट खाद्य र साल्ट बीच एक आपसमा व्यवसायिक सहकार्य गर्दै आउँदो १५ गतेदेखि देशभर कुल ५७ स्थानबाट सुपथ मूल्यका पसल सञ्चालन गर्ने निर्णय भएको स्रोतले जनाएको छ।
स्रोतका अनुसार खाद्यले उपत्यकाका ५ स्थान र उपत्यका बाहिरका २४ स्थान गरी २९ स्थान र साल्ट ट्रेडिङले उपत्यकाको ५ स्थानसहित उपत्यका बाहिरका २३ स्थान गरी देशैभरीबाट कुल ५७ स्थानबाट सुपथ मूल्यका पसल सञ्चालन गर्नेछ।
गत वर्ष उपत्यकासहित कुल २३ स्थानमा मात्र सुपथ मूल्यका पसल सञ्चालन गरिएकोमा एस पटक थप ६ स्थान थप्दै खाद्यले २९ स्थानबाट पसल सञ्चालन गर्न लागेका बताइएको छ।
खाद्यले भने आफ्नो केन्द्रीय कार्यालय थापाथली सहित रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकबाट बिक्री काउन्टर स्थापना गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने र उपत्यका बाहिर २५ जिल्लामा रहेका आफ्ना प्रादेशिक तथा क्षेत्रीय कार्यालयहरूबाट पसल सञ्चालन गर्ने गरी तयारी गरेको जनाएको छ।
खाद्य कम्पनी र साल्ट ट्रेडिङबीच सामान एक्सचेन्जका आधारमा सुपथ मूल्यका पसल सञ्चालन गर्ने सहमति भएको छ। खाद्यले साल्टको सामान बेच्ने र साल्टले खाद्यको सामान एक अर्काले एक्सचेन्ज (साटासाट) गरे बेच्ने सहमति भएको बताइएको छ।
यसरी दुई सस्थाले बेच्ने खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुमा बजार भाउ भन्दा ५ देखि १० रुपैयाँ सस्तो पर्ने गरी छुट दिने तयारी भएको पनि बताइएको छ।