कोरोनाबाट मृत्यु हुनेको संख्या विश्वमा १० लाख नाघ्यो

वेलकम खबर
अशोज १३, २०७७

काठमाडौं। विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेका संख्या १० लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार कोरोनाका कारण मृत्यु हुने मध्ये झण्डै आधा संख्या अमेरिका, ब्राजिल र भारतबाट रहेका छन्। विज्ञहरूले वास्तविक संख्या अझ यो भन्दा धेरै हुनसक्ने अनुमान गरेका छन्। कोरोनाको पहिलो संक्रमण झण्डै १० महिना अगाडि चीनको वुहानबाट सुरू भएको थियो। त्यसयता यो महामारी विश्वका १ सय ८८ वटा मुलुकमा फैलिसकेको छ।

हालसम्म विश्वका ३ करोड ३५ लाख ४९ हजार बढीमा कोरोना सङ्क्रमणको पुष्टि भइसकेको छ। महामारी नियन्त्रणका लागि अपनाइएका लकडाउन लगायतका सुरक्षात्मक सावधानीले विश्वका धेरै मुलुकले आर्थिक मन्दीको सामना गर्नुपरेको छ। यसैगरी यसका विरुद्ध खोप निर्माणका कामहरू चलिरहेको भएपनि ठोस नतिजा आएको छैन। चार वटा खोपहरूको परीक्षण तेश्रो चरणमा पुगेको भएपनि पूर्णरूपमा यी खोपहरू आम प्रयोगका लागि कहिलेसम्म बनिसक्छन् भन्ने यकिन भइसकेको छैन्।

विश्व स्वास्थ्य सङ्गठनले खोप तयार हुनेबेला सम्म विश्वमा २ लाख मानिसले सङ्क्रमणका कारण ज्यान गुमाइसक्ने चेतावनी दिएको छ। कोरोनाका कारण विश्वमा अमेरिका, ब्राजिल र भारत सबैभन्दा धेरै प्रभावित बनेका छन्। विश्वमा सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ भने त्यसपछि क्रमशः ब्राजिल र भारतमा भएको छ। अमेरिकामा हालसम्म २ लाख ९ हजार बढिको कोरोनाबाट मृत्यु भइसकेको छ। भने ब्राजिल र भारतमा क्रमशः १ लाख ४२ हजार १६१ र ९६ हजार ३५१ को मृत्यु भइसकेको छ।

अमेरिकामा अहिलेसम्म धेरै संक्रमित प्रमाणित भएपनि पछिल्लो समय संक्रमण फैलिने क्रम भारतमा सबैभन्दा धेरै छ। लकडाउनलाई विभिन्न चरणमा गरेर निक्कै खुकुलो बनाएका कारण भारतमा संक्रमण अझ बढ्न सक्ने अनुमान विज्ञहरूको छ। अमेरिकामा अगस्ट महिनामा संक्रमणदर घटेको भएपनि त्यो हाल पुनः बढ्न थालेको छ। जुलाई महिनामा त्यहाँ सङ्क्रमणको दोश्रो लहर सुरु भएको थियो। तीब्र गतिमा संक्रमण फैलिरहेको भनिएको भारतमा पछिल्ला दिनहरूमा एकैदिन ९० हजार सम्म संक्रमित फेला परेका थिए।

भारतमा हालसम्म ६१ लाख ४३ हजार बढि मा सङ्क्रमणको पुष्टि भइसकेको छ। यो विश्वकै दोश्रो धेरै संक्रमित भएको मुलुक हो। पहिलो नम्बरमा अमेरिका रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*