नेपालमा थप १३१३ मा कोरोना पुष्टि
काठमाडौं। पछिल्लो २४ घण्टामा १३१३ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ। यससँगै कुल सङ्क्रमितको संख्या ७० हजार ६१४ पुगेको छ। उनीहरुमध्ये ४५९ जनाको मृत्यु भएको छ भने ५१ हजार ८६६ संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा मात्र १४५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
साथै काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ५०३, भक्तपुरका ५१ र ललितपुरका ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ५९ पुगेको छ। ५ वटा जिल्लाका ३ महिला र ३ पुरुष गरी ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मोरङमा ६० वर्षीया महिला र ५५ वर्षीय पुरुष, सप्तरीमा ७० वर्षीय पुरुष, ललितपुरमा ५१ वर्षीय पुरुष, काठमाडौंमा ७५ र कपिलवस्तुमा ७० वर्षीया महिलाको मृत्यु भएको छ।