सबै तरकारीको भाउ आकाशियो
काठमाडौँ। चाडपर्व नजिकिँदै गर्दा बजारमा प्याज, आलुसहित हरियो तरकारीको पनि भाउ आकाशिएको छ। थोकको तुलनामा खुद्रा बजारमा भाउ तेब्बरसम्म बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ४८ रुपियाँमा किनबेच भइरहेको लौका कीर्तिपुरको खुद्रा पसलमा प्रतिकेजी ११० रुपियाँमा, ६८ देखि ९५ रुपियाँको गोलभेँडा १४० देखि १८० रुपियाँसम्म बिक्री भइरहेको छ।
भारतले प्याज निर्यातमा रोकेको भोलिपल्टै प्याज आकाशिए सँगै सबै तरकारी महँगिएका छन् । यसको प्रत्यक्ष मारमा सर्वसाधारण उपभोक्ता परेका छन्। उपभोक्ता अधिकारकर्मी भने सरकारका नियमनकारी निकायले बजार हस्तक्षेप गर्न नसक्ने र बजार व्यापारी नियन्त्रित हुँदा उपभोक्ता मारमा परेका बताउँछन्।
उपभोक्ता अनुसन्धान मञ्चमा अध्यक्ष माधव तिमिल्सिनाले तरकारी मात्र नभई खाद्यान्न, निर्माण सामग्री, लत्ताकपडा लगायतको भाउमा मनपरी रहेको बताए। नियमनकारी निकायहरू मिडियामा समाचार आएपछि मात्र बजारको अवलोकनमा जाने र सानातिनालाई जरिवाना गर्ने र ठूलामा जाँदै नजाने परिपाटी रहेको आरोप लगाए। गोरखापत्र दैनिक