चाड पर्व लक्षित सहुलियत मूल्यका पसल थप्ने तयारी

वेलकम खबर
अशोज ५, २०७७

काठमाडौँ। दसैँ, तिहार र छठलगायतका चाड पर्वलाई लक्षित गरेर सरकारले सञ्चालन गर्ने सहुलियत मूल्यका पसल अघिल्लो वर्षभन्दा थपिने भएका छन्। सरकारले अघिल्ला वर्षभन्दा यो वर्ष केही पसल थपेर एकीकृत सहुलियत मूल्य पसल सञ्चालनको तयारी थालेको छ।

यस वर्ष कोभिड­–१९ का कारण भीडभाड कम गर्ने अभिप्रायले सरकारले गत वर्षभन्दा केही पसल थपेर सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको जनाइएको छ। चाडपर्वमा उपभोक्तालाई थोरै भए पनि मूल्यमा राहत दिने उद्देश्यले सरकारले हरेक वर्ष यस्ता सहुलियत मूल्य पसल सञ्चालन गर्ने गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कम्पनी र दुग्ध विकास संस्थानले संयुक्त वा आआफ्नो किसिमले सहुलियत मूल्य पसल सञ्चालन गर्नेगरी तयारी भइरहेको छ। मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले यस वर्ष दसैँ, तिहारलगायतका चाडपर्व ढिला भएकाले भर्खर तयारी थालिएको बताए। दसैँ आउन १५ दिन अगाडि नै सहुलियत मूल्य पसल सञ्चालन गर्नेगरी मन्त्रालयले गृहकार्य थालेको जानकारी उनले दिए।

उनका अनुसार यसबारे सम्बन्धित सरोकारवालासँग एक÷दुई चरणमा छलफल भइसकेको छ। अब मन्त्रीसँग हुने छलफलले अन्तिम रूप दिनेछ र पसल सञ्चालनका लागि मिति पनि तय गर्नेछ। सहप्रवक्ता केसीले यो वर्ष कोभिड–१९ को स्वास्थ्य जोखिमलाई ध्यान दिएर केही पसल थप्ने गर्नेगरी छलफल गरिएको र थपिने सङ्ख्याको टुङ्गो नलागेको पनि जानकारी दिए। गोरखापत्र दैनिक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*