मृत्यु भइसकेकाहरुको कोरोना परीक्षण नगर्नु : स्वास्थ्य मन्त्रालय
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भइसकेका व्यक्तिहरुको कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ। मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले शंकास्पद व्यक्तिको मृत्युपछि कोरोना परीक्षण नगर्न नगराउन भनेको हो।
तर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा आएकाहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘शवबाट नमुना निकाली कोभिड–१९ परीक्षण गर्ने काम नगर्ने नगराउने।’ यससम्बन्धी निर्देशिका परिमार्जन गर्दै लैजाने उनले बताए।
कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर अस्पताल पुगेका वा घरमै मृत्यु भएकाहरुको स्वाब संकलन गरेर परीक्षण गर्ने गरिएको छ। यसरी परीक्षण गर्दा कोभिड–१९ संक्रमण पुष्टि भएका थुप्रै केस छन्। नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको पनि मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो।
तर अब सरकारले मृत्यु भइसककोहरुको पीसीआर टेष्ट नगर्ने निर्णय गरेको छ ।