कोरोना परीक्षण अब २ हजारमै हुने
काठमाडौं। बिध ल्याबले कोरोना परीक्षणको शुल्क पुनः घटाएको छ। ४ हजारमा कोरोना परीक्षण गराउँदै आएको यस ल्याबमा अब २ हजारमै पीसीआर परीक्षण गराउन सकिने भएको हो।
सरकारको कोरोना परीक्षणको दायरा बढाउने नीतिमा सहयोग पुग्ने हिसाबले परीक्षण शुल्क घटाइएको बिध म्यानेजमेन्ट प्रालिले जनाएको छ। बिधका अनुसार बढ्दो संक्रमणलाई मध्यनजर गर्दै परीक्षणको दायरा बढाउ नपर्ने अवस्थालाई मध्यनजर गर्दै परीक्षण शुल्क घटाइएको हो।
यो योजना अहिलेलाई ३० दिनका लागि मान्य हुनेगरि शुल्क घटाइएको हो। सरकार र जनस्तरबाट आएको प्रतिक्रियाबाट समन्वय गरेर आवश्यक परेको खण्डमा ३० दिनपछि पुनः शुल्कबारे सोच्न सकिने बताइएको छ। सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै ल्याबले ध्वस्त हुँदै गएको अर्थतन्त्रलाई पनि ध्यान दिनेगरी कम शुल्कमा धेरै परीक्षण गराउन लागेको बताइएको छ।
साथै, वैदेशिक रोजगारीमा जानेहरूका लागि अझै १ सय छुट गरिएको बिधले जनाएको छ। बिधका अनुसार दुःख पाएर विदेश जान पर्ने अवस्था भएर रोजगारीको सिलसिलामा जानेहरूका लागि १९ सय रुपैयाँमा नै कोरोना परीक्षण गराइनेछ। गत १३ साउनमा सरकारबाट मान्यता लिएर कोरोना परीक्षण गराउँदै आएको यस ल्याबले यसअघि पनि सरकारले तोकेको भन्दा सस्तोमा परीक्षण गराउँदै आएको थियो।
ल्याबले दैनिक ४ हजार भन्दा बढी कोभिड परीक्षण गर्न सक्ने छ। छिटो र छरितो रुपमा परीक्षण गराउँदै आएको यस ल्याब ललितपुरको कुपण्डोलमा छ।