आन्तरिक उडान खुलाउन पर्यटन मन्त्रालयको प्रस्ताव
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असोज १५ गतेदेखि आन्तरिक उडान खुलाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा प्रस्ताव पठाएको छ।
कोरोना संक्रमण कम भएका हिमाली तथा पहाडी केही जिल्लाबाट उडान शुरू गर्ने तयारी भइरहेका बेला मन्त्रालयले सीसीएसीमा प्रस्ताव पठाएको पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिएका छन्।
आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको सेजन अर्थनीति बहसअन्तर्गत ‘कोभिड–१९ पछि पर्यटन र हवाई क्षेत्रमा पारेको समस्या र अबको बाटो’ विषयक भर्चुअल संवादमा मन्त्री भट्टराईले यसअघि हिमाली तथा पहाडी जिल्लाहरूमा असोज १ गतेदेखि आन्तरिक उडान खोल्ने तयारी गरिए पनि रोकिएको बताए। असोज १ गतेको तयारीमा केही थप गर्नुपर्ने भएकाले १५ गतेदेखि उडान सुचारु गर्ने प्रस्ताव पेश गरिएको जानकारी उनले दिए।
५ महीनादेखि बन्द पर्यटनलाई कोरोनाकै बीचमा कसरी सुरक्षित ढंगले सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सरकारले चिन्तन गरिरहेकै छ। काठमाडौंजस्तो ठूलो जनघनत्व भएको ठाउँ र तराईका जिल्लाहरूमा पछिल्लोपटक कोरोना संक्रमण बढेकाले खुला गर्ने भनिए पनि निर्णय पुनर्विचार गर्नु परेको हो। उनले भने।
सरकारले कोरोना सङ्क्रमणका कारण करिब ५ महीनादेखि बन्द गरेको अन्तर्राष्ट्रिय उडानलाई भदौ १६ गतेदेखि नियन्त्रित रूपमा खोलेको थियो। अब स्वास्थ्य र सुरक्षा अवस्था हेरी क्रमशः खोल्दै लैजाने तयारी भएको मन्त्री भट्टराईले जानकारी दिए।
यसअघि सरकारले भदौ १६ गतेदेखि नै आन्तरिक उडान खोल्ने निर्णय गरे पनि काठमाडौं लगायत विभिन्न जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि आन्तरिक उडान पुनः बन्द गर्ने निर्णय गरेको थियो।