अन्तर्राष्ट्रिय उडानको तालिका संशोधन
काठमाडौँ। मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रियतर्फ दैनिक आगमन यात्रु ८ सय सम्म नबढ्ने गरी नियमित र चार्टर उडान सञ्चालन गर्ने आदेश दिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिकामा ५५ वटा उडान थपेर १ सय ४२ वटा उडानलाई अनुमति दिइएको छ।
कोरोनाको महामारीका कारण स्वदेश फर्किन चाहने नेपालीहरू श्रम गन्तव्यमा हजारौँको सङ्ख्यामा रहेकाले भदौ १४ गतेको मन्त्रिपरिषद् बैठकले चार्टर र नियमित दुवै उडानबाट आउने यात्रुको संख्या ३ सय थप्दै ८ सय पुर्याएको थियो।
सरकारले भदौ ४ को जारी गरेको यात्रु संख्या ५ सयको आदेश संशोधन गरिदिएपछि मन्त्रालयले भदौ १६ देखि असोज १४ सम्मको एक महिनामा ९३ वटा नियमित र ४९ वटा चार्टर उडानलाई काठमाडौंका लागि अनुमति दिएको हो।
सरकारले पहिलोपटक भदौ ४ गते मन्त्रिपरिषदबाट दैनिक आगमन यात्रु ५ सय नबढ्ने गरी चार्टर उडानसँगै नियमित उडान खुला गर्ने निर्णय गरेको थियो । तर, नेपाल आउने यात्रुको संख्या विदेशमा अत्याधिक भएको र थोरै उडानमा टिकट अत्याधिक महँगो भएपछि सरकारलाई उडान संख्या बढाउन दबाब परेको थियो।
हाल नियमित उडान खुला गरिएका गन्तव्यमा छिमेकी मुलुक भारतबाहेक चीनको छेन्दु, ग्वाङजाउ, छोङकुइङ, हङकङ, मलेसिया, जापान, कोरिया छन्। त्यस्तै पश्चिममा दोहा, दुबई, शारजाह, साउदी अरब, आबुधाबी र इस्तानबुल छन्। त्यस्तै चार्टर ९उद्धार० उडानतर्फ माल्दिभ्स, कतार, कुवेत, जेद्दा ओमन, बहराइन, रियाद, सिंगापुर आदि गन्तव्य छन्।
उडान अनुमति पाउने स्वदेश वायुसेवामा नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्स र श्री एयरलायन्स छन। विदेशी तर्फ कोरियन एयर, चाइना साउर्दन, एयर चाइना, मलेसियन एयरलाइन्स, मालिन्दो एयर, क्याथे ड्रयागन, सिल्क एयर, एयर अरेबिया, कतार एयरवेज, फ्लाई दुबई, जजिरा एयर लगायत छन्।
मन्त्रालयका एक अधिकारीका अनुसार यी नियमित तथा चार्टर उडानले काठमाडौंमा यात्रु ल्याउँदा बिहान ६ बजेदेखि बेलुकी ६ बजेभित्र आइसक्नुपर्ने छ। यी उडानमा मेडिकल लगायतका कार्गो उडान गर्ने वायुसेवाको अनुमति समेटिएको छैन।
नियमित उडानमा नेपाल आउने यात्रुले उडान हुनु ७२ घन्टाभित्रको पीसीआर नेगेटिभ भएको रिपोर्ट अनिवार्य ल्याउनु पर्ने नियम छ। एउटै उडानमा पीसीआर जाँच गरेका र नगरेका यात्रु मिसाएर ल्याउन रोक लगाइएको छ। त्यसो गरेमा वायुसेवाको खर्चमा ७ दिन सबै यात्रुलाई काठमाडौंका होटल क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने नियम छ।
नियमित उडानबाट काठमाडौंमा पर्यटकलाई आउन रोक नै लगाइएको छ। तर नेपालमा रहेका कूटनैतिक नियोग, दूतावास, अन्तर्राष्ट्रिय विकास साझेदार संस्था, संयुक्त राष्ट्र संघका नियोगमा कार्यरत कर्मचारी र तीनका परिवारलाई भने आउन छुट छ।