ललितपुर प्रवेश नाका सिल
ललितपुर। बिहीबार विवाद भएपछि रोकिएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने कार्यक्रम आइतबार फेरि हुँदैछ। ललितपुरको पुल्चोकमा हुने कार्यक्रमका लागि महानगरीय प्रहरी परिसर, ललितपुरले कडा सुरक्षा व्यवस्था लागू गरेको छ।
ललितपुर प्रवेश गर्ने बालकुमारीदेखि बल्खुसम्मको सबै क्षेत्र सिल गरिएको छ। जिल्ला प्रशासन कार्यालय, प्रहरी र ज्यापु समाजका पदाधिकारीबीच भएको छलफल अनुसार सीमित व्यक्ति भेला भएर रथ तान्नका लागि जिल्ला प्रवेश गर्ने क्षेत्र सिल गरिएको हो।
तर, प्रशासन स्रोतबाट प्राप्त विवरण अनुसार सीमित भनेर तयार गरिएको सूचीमा पनि ४ सय ३४ जना छन्। स्रोतका अनुसार १६० जना रथ तान्ने, १२४ जना स्वयंसेवक, २८ जना बाजागाजा बजाउने समूह र ज्यापु समाजका विभिन्न पदाधिकारी १२२ जना गरी ४ सय ३४ जना भेला भएर रथ तानिँदैछ।
कार्यक्रम स्थलको चारैतिर प्रहरीको घेरा हुने सुरक्षा तयारीको खाकामा उल्लेख छ। बिहीबार प्रशासनको अनुमितबिना ठूलो संख्यामा मानिसको भिड जम्मा भएपछि विवाद भएको थियो। प्रशासनले कार्यक्रम बिथोलेको थियो। त्यसक्रममा एकजना ट्राफिक प्रहरी जवान पनि निर्घात कुटिएका थिए।
प्रशासनले शुक्रबार मात्रै रथ निकालिएको क्षेत्र वरपर पाँच जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेको थियो।