रातो मत्स्येन्द्रनाथको रथ आज तानिँदै
काठमाडौं। रातो मत्स्येन्द्रनाथको रथ आज तानिने भएको छ। कोरोना भाइरसबाट जोगिने ‘डब्लुएचओ’ को सम्पूर्ण निर्देशनको पालना गर्दै सामाजिक दूरी कायम गरी आज अपराह्न रथ तान्न लागिएको हो। ललितपुरको पुल्चोकमा रहेको रथलाई तानेर करीब ३० मिटर पर पुर्याइने छ। रथ तान्नका लागि १२० जना जम्मा हुने ज्यापू समाजले जनाएको छ।
रथ तान्नेहरूको पहिचानका लागि टिसर्ट र टोपीको समेत व्यवस्था गरिएको बताइएको छ। ज्यापु समाजले स्थानीयहरुलाई यो वर्ष कोरोना महामारीका कारण जात्रामा सहभागी नहुन अनुरोध गरेको छ। रथ तानिने क्षेत्रको केही चोकमा स्थानीयले भगवानलाई चढाउन ल्याएको फल, प्रसाद स्वयंसेवकहरुले चढाइदिने व्यवस्था रहेको ज्यापु समाजले जनाएको छ।
यसअघिका वर्षमा रथलाई पाटन शहर पूरै घुमाइने गरेको भए पनि यो वर्ष कोरोना महामारी रहेकाले पुल्चोकको सोह्रखुट्टे पाटीबाट बढीमा ३० मिटर अगाडि पु¥याएर जात्रा बिसर्जन गरिँदैछ। भोलि भुज्या मनाउने तथा मूर्तिलाई बुङ्गमती लैजाने साइत हेरिनेछ भने साइत जुरेमा २६ गते रातो मत्स्येन्द्रनाथलाई बुङ्गमती प्रस्थान गरिनेछ।
यसैसँगै २०७७ सालको रातो मत्स्येन्द्रनाथको जात्रा सम्पन्न गर्ने तयारी गरिएको छ।