उपत्यकामा रहेका आर्थिक कमजोर हुने ताप्लेजुङबासीलाई निःशुल्क कोरोना बीमा
काठमाडौँ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको सहयोगमा न्यून आयस्रोत भएका, असहाय, विद्यार्थी तथा निम्न वर्गका ताप्लेजुङबाट काठमाडौं उपत्यकामा आई बसोबास गर्ने नागरिकहरूको ५० हजार बराबरको कोरोना बीमा गरिने भएको छ। ताप्लेजुङबाट पेशा व्यवसायको सिलसिलामा उपत्यका पुगेकाहरू सङ्गठित हुने दुई संस्था ताप्लेजुङ सरोकार केन्द्र र ताप्लेजुङ समाज नेपालको समन्वयमा उक्त बीमा गरिन लागेको हो।
यि संस्थाका आधिकारिक प्रतिनिधिहरूले गरेको सिफारिसका आधारमा विपन्न वर्गका सदस्यको ५० हजार रुपैयाँको निःशुल्क कोरोना बीमा गरिने छ। शुल्क तिरेर बीमा गराउन चाहनेहरूले पनि यी संस्थाका प्रतिनिधि र पर्यटनमन्त्री भट्टराईको सचिवालयमा सम्पर्क गर्न सक्ने ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले जानकारी दिएका छन्।
यस अघि प्रेस संगठन नेपालको समन्वयमा ताप्लेजुङका क्रियाशील पत्रकारहरूको जनही १ लाख मूल्य बराबरको कोरोना बीमा गर्दा समेत मन्त्री भट्टराईले नै आर्थिक सहयोग गरेका थिए।