मन्त्रिपरिषद्को बैठक बस्दै

वेलकम खबर
भदौ १९, २०७७

काठमाडौं। आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो।

यसै मार्फत अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने भएका छन्। राष्ट्रियसभाको खाली एक सिटमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने पार्टी निर्णयसँगै खतिवडाले राजीनामा दिन लागेका हुन्। आज बिहान ११ बजे बस्ने मन्त्रिपरिषद् बैठकमा खतिवडाले राजीनामा दिने तयारी गरेको उनी निकट स्रोतले जनाएको छ। खतिवडाले बुधबारै राजीनामा दिने तयारी गरेपनि उनलाई प्रधानमन्त्री ओलीले रोकेका थिए।

बुधबार प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका खतिवडालाई प्रधानमन्त्रीले शुक्रबारको मन्त्रिपरिषद् बैठकमै राजीनामा दिनु भनेर पठाएका थिए। राजीनामा दिएलगत्तै अर्थमन्त्री खतिवडा पहिला अर्थमन्त्रालयमा पुगेर बिदाइ हुनेछन्। त्यसपछि सञ्चारमन्त्रालयमा आएर प्रेस मिट गर्दै अहिलेसम्म आफूले गरेका कामकारवाहीका बारेमा जानकारी दिने तयारी गरेको खतिवडा निकटस्थहरूले बताएका छन्।

यसैबीच खतिवडाको बहिर्गमनसँगै अबको अर्थमन्त्री को हुने भन्ने चर्चा सुरु भएको छ। अर्थमन्त्रीका लागि नेकपाकै महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे चर्चामा छन्।

उता, राष्ट्रियसभामा जाने निश्चित भएका वामदेव गौतमले पनि उपप्रधानसहित अर्थमन्त्रालयको दावी गर्दै आएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*