सार्वजनिक यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नचल्ने
काठमाडौं । कोरोना महामारीका कारण बन्द गरिएका लामो दूरीका यातायात तथा आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नचल्ने भएकाे छ ।
चैतदेखि नै बन्द रहेका लामो दूरीका यातायात यसअघि बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ बाट सारेर भदौ १५ सम्म सञ्चालन हुन नपाउने निर्णय गरेको थियो ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि फेरि १५ दिन थप गरी भदौ अन्तिमसम्म सार्वजनिक सवारी साधन आवागमनमा रोक लगाउने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १५ गतेदेखि चल्न दिने भनेको लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा भदौ अन्तिमसम्म सञ्चालनमा प्रतिबन्ध लगाएको हो
त्यसैगरी आइतबार बसेको मन्त्रिपरिषद् बैठकले हङकङको महावाणिज्यदूतमा उदयबहादुर रानामगरलाई नियुक्त गरेको छ । रानामगर यसअघि झापाको प्रमुख जिल्ला अधिकारी थिए ।
सरकारले रोजगार खुलाएका विभिन्न गन्तव्य मुलुकहरूका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ ।
त्यस्तै मन्त्रिपरिषद्को आजको बैठकले भदौ १६ गतेदेखि सुरु गर्न लागेको नियमित उडान केही थप्ने सैद्धान्तिक निर्णय गरेको छ ।
यसअघि सरकारले दैनिक पाँच सयभन्दा बढी नागरिक नल्याउने निर्णय गरेको थियो । दसैँ, तिहार, छठ, इदलगायत पर्व नजिकिँदै गरेकाले यति सङ्ख्याले मात्रै नपुग्ने भएर नियमित उडान थप गर्न लागेको हो ।
यस्तै सरकारले कुनै कम्पनीले शतप्रतिशत पीसीआर परीक्षण, टिकट शुल्क र क्वारेन्टिन खर्च बेहोर्ने भए ती कम्पनीका लागि पनि उडान थप गर्ने सैद्धान्तिक निर्णय गरेको छ ।
यस्तै यसअघि भदौ १५ गते मध्यरातसम्म रोक लगाएको आन्तरिक उडान, स्कुल–कलेजका परीक्षा, खेलकुद प्रशिक्षण आदि भदौ मसान्तपछि मात्रै खुला गर्ने निर्णय गरिएको छ ।