पर्यटन मन्त्रालयका उपसचिवलाई कोरोना संक्रमण
काठमाडौं । कोरोना भाइरस संक्रमण प्रहरी प्रधान कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै सिंहदरवारमा पनि प्रवेश गरिसकेको छ । भदौ २ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीदेखि मन्त्री योगेश भट्टराईसम्मको पीसीआर परीक्षण गरिएको थियो ।
पीसीआर परीक्षणमा एक उपसचिवलाई कोरोना पोजेटिभ देखिएको छ । भदौ २ मा मन्त्रालयका आधा कर्मचारीको स्वाब लिएर परीक्षण गरिएकोमा ती उपसचिवको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका एक अधिकारीले बताएका छन् ।
उनका अनुसार एक संक्रमित देखिएका छन्, थप एक भीआइपीको रिपोर्ट गोप्य राखिएको छ । ती भीआइपीको रिपोर्ट पनि पोजेटिभ आएकाले गोप्य राखिएको छ ।
ती महिला उपसचिवमा संक्रमण देखिएपछि मन्त्रालयका थप कर्मचारीको पनि पीसीआर परीक्षण गर्नुपर्ने भएको छ ।