आज हरितालिका तीज मनाइँदै

वेलकम खबर
भदौ ५, २०७७

काठमाडौं। आज हरितालिका तीज पर्व। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज आज महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।

शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका तीज को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन्। तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन्।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए। साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन्। यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीज को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ। सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ।

नारीले परिवारको अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन्। यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्हरुको भनाई छ। समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रीहरुको मत छ। आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन्। समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व छ।

बिहीबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ।

यस वर्ष पर्वका अवसरमा मन्दिर नखुल्ने भएको छ। पशुपतिनाथ लगायत मुख्य मन्दिर चैतदेखि नै बन्द छन्। बुधबार रातिदेखि निषेधाज्ञा लागू भएपछि यस वर्ष महिलाले घरमै महादेवको पूजा आराधना गरी तीन मनाउँदै छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*