कोरोनाको जोखिम बढाएपछि बुटवलमा लकडाउन
बुटवल। कोराना सङ्क्रमणले समुदायस्तरमा समेत उच्च जोखिम बढाएपछि बुटवलमा बिहीबारदेखि लकडाउन हुने भएको छ। बुटवलस्थित कोरोना अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएकै दिन बुटवल उपमहानगरपालिकाले एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको हो।
प्रकोप व्यवस्थापन समिति बुटवलको बुधबार बसेको आकस्मिक बैठकले बिहीबार रातिदेखि बुटवलमा कडाइका साथ लकडाउन गर्ने निर्णय गरेको हो। सङ्घीय सरकारको मापदण्ड तथा जिल्ला प्रशासनको परामर्श र सहकार्यसँगै यस्तो निर्णय गरिएको बताइएको छ। आकस्मिक आउजाउ गर्न बाहिर जान र बुटवल आउनका लागि बिहीबार राति १२ बजेसम्म समय दिइएको बतइएको छ।
लकडाउनमा अत्यावश्यकबाहेक अरु सबै ठप्प हुनेछन्। लकडाउन खुलेपछि बुटवलमा अत्यधिक भीडभाड, सार्वजनिक जमघट बढेको थियो।