अनावश्यक घर बाहिर नजान सरकारको आग्रह
काठमाडौं। सरकारले अति आवश्यक काम नपरी घरबाट बाहिर नजान आग्रह गरेको छ। काठमाडौँ उपत्यका साथै घनाबस्ती भएका सहरहरुमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढिरहेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पत्रकार सम्मेलनमा भने, ‘सङ्क्रमण बढ्दै गए पनि पसल, कार्यालय, सार्वजनिक स्थान, सवारी साधनमा र खासगरी लाइनमा बस्दा कतिपय व्यक्तिहरुले जनस्वास्थ्यका मापदण्ड अपनाएको देखिँदैन।’
विशेष गरी खाद्यान्न, तरकारी र फलफूल पसलमा केही नभएजस्तो गरेर अर्को व्यक्तिसँग नजिकै गएर सामान किन्न हतार गरिरहेको भेटिएको उनले बताएका छन्।
‘बिना सावधानी अपनाइ हामी यातायातका साधनमा बसिरहेका छौँ।’ उनले भने, ‘पाहुना वा साथीभाइसँग हुल गरी चाडपर्व पनि मनाइरहेका छौँ। कार्यालयहरूमा अझै पनि बैठक गर्ने, सभा सम्मेलन गर्ने कार्यलाई निरन्तरता दिइएको पाइन्छ। यस्तै स–साना व्यवहारहरू र हतार गर्ने बानीले नै हामीलाई कोरोनाको जोखिममा पारिरहेको छ र सङ्क्रमण बढिरहेको छ।’
सरकारले घरबाट बाहिर निस्कँदा अनिवार्य मुख छोपिने गरी मास्क लगाउन आग्रह गरेको छ। ‘कार्यालय, पसल, यातायातका साधन वा जहाँ पनि एक अर्कोसँग सधैँ कम्तिमा दुई मिटर टाढा बसौँ।’
स्वास्थ्य सुरक्षाका अभ्यासहरु सँगै अति आवश्यक काम नपरी घरबाहिर नजान पनि आग्रह गरेको छ। ‘अनि आवश्यक काम नपरी घरबाट बाहिर नजाऔँ वा एक ठाउँबाट अर्को ठाउँको यात्रा नगरौँ।’, प्रवक्ता डा. गौतमले भनेका छन्, ‘घरमा पाहुना नबोलाऔं र पाहुना बन्न पनि नजाऔं। यदि कोरोना सङ्क्रमित स्थानबाट आउनु भएको छ वा विदेशबाट आउनुभएको छ भने अवश्य १४ दिनसम्म सरकारले बनाएको मापदण्ड पालना गरी क्वारेन्टाइनमा बसौँ।’
कोरोना घरभित्र आउन नदिन सबै सुरक्षाका उपाय पालना गर्न सरकारले आग्रह गरेको छ।