उपत्यकाका प्रशासन कार्यालयले बन्द गरे दुई साताको लागि अत्यावश्यकबाहेक सेवा
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले शुक्रबार बैठक गरी अत्यावश्यकबाहेकका सेवा दुई साताका लागि बन्द गर्ने निर्णय गरेका छन्।
उक्त बैठकले कोरोनाभाइरसका संक्रमित भेटिएका स्थानमा सिल गर्न निर्णय पनि गरेको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना संक्रमण देखिएका स्थान र बस्तीमा स्वास्थ्य मन्त्रालयको सिफारिसमा सिल गरिने बताए। ुजहाँजहाँ संक्रमण देखिन्छ, स्वास्थ्य मन्त्रालयको सिफारिसमा त्यहाँ सिल गर्ने हो,’ उनले भने।
महाबौद्धमा शुक्रबारमात्रै तीन जना कोरोना संक्रमित भेटिएका थिए। उक्त क्षेत्र शुक्रबार रातिदेखि अनिश्चितकालका लागि सिल गर्न लागिएको हो।
आजको बैठकले तीनै जिल्ला प्रशासन कार्यालयबाट नागरिकता र पासपोर्ट वितरण बन्द गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए।
‘अब उपत्यकाका क्वारेन्टिनलाई आइसोलेसनमा स्तरोन्नति गर्ने र प्रोटोकलअनुसार मापदण्ड पालना भएरनभएको पनि अनुगमन गर्ने निर्णय गरेका छौं,’ उनले भने।यस्तै बैठकले उपत्यका भित्र कुनै किसिमको सभा, गोष्ठी, सेमिनार गर्न नपाइने निर्णय गरेको छ। पछिल्लो सम्य संक्रमणको जोखिम बढेको स्थितिलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले नाकाहरूमा समेत थप कडाइ गर्ने निर्णय भएको बताइन्।नाकामा समेत थप कडाइ गर्ने भनेका छौं। साथै जनस्वास्थ्यका मापदण्ड नमान्नेप्रति कडा प्रस्तुत हुने पनि निर्णय भएको छ,उनले भनिन्।
अब उपत्यकामा मास्कको प्रयोग नगर्नेप्रति प्रशासन कडा प्रस्तुत हुने भएको छ। अहिले भने सरकारले मास्कको प्रयोग नगर्नेलाई एक सय रुपैयाँ जरिवाना गर्दै आएको छ।