नेपालमा कोरोनाबाट मृत्यु हुुनेको संख्या ७० पुग्यो
काठमाडौं। नेपालमा हालसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ७० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ५ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या ७० जना पुगेको जानकारी दिए।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ज्यान गुमाउने सबै पुरुष रहेका छन्। जसमा पर्सा वीरगन्ज महानगरपालिका ९ माइस्थान बस्ने ४५ वर्षीय एक पुरुष, वीरगन्ज महानगरपालिका ११ श्रीपुरका ७९ वर्षीय एक पुरुष, वीरगन्ज महानगरपालिका ११ श्रीपुरका ५७ वर्षीय पुरुष, सिरहा गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षीय एक पुरुष र सर्लाही जिल्ला बसन्तपुरका ४५ वर्षीय एक पुरुष रहेका छन्।
साथै नेपालमा शुक्रबार थप ४६४ जना कोरोना संक्रमित भएका छन्। ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको हो। यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ।
मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौं हुन्। अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने सात पुगेको छ। प्रवक्ता गौतमका अनुसार खोटाङ, धनकुटा, संखुवासभा, रुकुम पश्चिम, मनाङ र मुस्ताङमा कोरोना संक्रमण शून्यमा झरेको हो।