काठमाडौंमा ८ सङ्क्रमित बेपत्ता
काठमाडौँ। कोरोना भाइरस सङ्क्रमण पुष्टि भएकामध्ये केही सङ्क्रमित भागेकाले सङ्क्रमणको जोखिम बढ्न सक्ने देखिएको छ। बुधबार उपत्यकामा सङ्क्रमण पुष्टि भएका १ सय २ जनामध्ये आठ जना सङ्क्रमित स्वास्थ्यकर्मीको सम्पर्क बाहिर रहेको पाइएको हो।
बुधबार बिहानसम्म १६ जना सङ्क्रमित सम्पर्क बाहिर रहेकामा बिहीबार आठ जना सम्पर्कमा आएका छन्। बाँकी आठ जनाको कुनै अत्तोपत्तो नभएको जनाइएको छ। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सम्पर्क बाहिर रहेका केही सङ्क्रमितले सम्पर्क नम्बर नै गलत राखेको बताइएको छ। इडिसिडीले स्वाब सङ्कलन गरेकामध्ये केहीले अपुरो सम्पर्क नम्बर दिएको जनाएको छ।
सङ्क्रमितहरू सम्पर्क बाहिर रहँदा कन्ट्याक्ट ट्रेसिङलगायतमा समस्या हुने गर्छ। जसले गर्दा सङ्क्रमितको सम्पर्कमा आएकाहरू थप जोखिममा पर्ने चिकित्सकको भनाइ छ। लकडाउन खुलेयता हालसम्म ३ हजार ९ सय ५ जना सङ्क्रमित थपिएका छन्। पछिल्लो समय सङ्क्रमितमा श्वासप्रश्वासमा गाह्रो हुने, झाडापखाला, ज्वानोलगायतका लक्षण देखिन थालेको चिकित्सकहरू बताउँछन्।