फेरि २ हप्ता लकडाउन गर्न प्रधानमन्त्रीलाई विज्ञको सुझाव
काठमाडौँ। जनस्वास्थ्य विज्ञहरूले लकडाउन फेरि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन्। आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिपक्षी दलका नेतासहित जनस्वास्थ्य विज्ञसँग प्रधानमन्त्री ओलीले गरेको छलफलमा फेरि लकडाउन गर्न सुझाव दिएका हुन्।
विज्ञहरूले अब कम्तिमा २ हप्ता लकडाउन गर्नुपर्ने सुझाव दिएका छन्। छलफलमा सहभागी प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरूले राखेको सुझाव कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए। उनले सुझाव लिने मात्र नभइ कार्यान्वयन गर्नुपर्ने बताएका थिए।
देउवाले कोरोना नियन्त्रणमा सरकारले आफूहरूले दिएको सुझाव अनुसार काम नगर्दा भयावह स्थिति आउन लागेको भन्दै सरकारका कामकारवाही प्रभावकारी हुन नसकेको बताएका थिए। उनले सरकार कोरोना र बाढीपहिरो नियन्त्रण तथा राहत र उद्धारमा खटिनुको साटो सत्ताको खिचातानीमा मात्रै रमाउने गरेको बताएका छन्।
त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूसहित विज्ञहरूले दुई साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएका छन्। विज्ञहरूले पनि यही अवस्थामा अघि बढ्दा कोरोना थप भयावह हुन सक्ने भन्दै थप २ हप्ता लकडाउन घोषणा गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाएका छन्।
यसैबीच प्रधानमन्त्री ओलीले भने जनताले नै सरकारको आग्रह नसुनेकाले कोरोना भयावह अवस्थामा पुगेको बताएका छन्। प्रधानमन्त्री ओलीले सरकारले २५ जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला नहुन भने पनि नागरिकले नै बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाएका छन्।
प्रधानमन्त्री ओलीले महामारी नियन्त्रण गर्न सरकारले गर्ने कामले मात्र नपुग्ने भन्दै जनतामा जति बढी चेतना बढाउन सकिने भन्दै कोरोनासँग लड्न पनि त्यति नै सहज हुने बताएका छन्। उनले कोरोनाको सङ्क्रमणको अवस्था बुझेरमात्र लकडाउन गर्ने नगर्ने भन्ने निर्णय लिने बताएका छन्।
ओलीले प्रतिपक्षी दलसहित विज्ञहरूसँग सुझाव लिन बैठक बोलाएका थिए।