आज गाईजात्रा मनाइँदै, सचेत रहेर मनाउन सरकारको आग्रह
काठमाडौं। भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाईजात्रा पर्व आजदेखि सुरु हुँदै छ। गाईजात्राका अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा समेत दिइएको छ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर परिक्रमा गराइ गाईजात्रा मनाइन्छ। यसरी नगर परिक्रमा गराउँदा मृतकको आत्मा गाईको पुच्छर समाएर वैतर्णी पार हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ।
गाईजात्रा काठमाडौं उपत्यका लगायत नेवार समुदायको बसोबास रहेका देशका विभिन्न सहरहरुमा मनाइँदै आएको छ। यसपालि भने कोरोना भाइरस संक्रमणको जोखिम रहेकाले सचेत रहेर पर्व मनाउन सरकारले आग्रह गरेको छ।
मल्लकालीन राजा प्रताप मल्लले पुत्रशोकमा रहेकी रानीलाई अरुले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन वर्षभरि निधन भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउन आदेश दिएअनुसार गाईजात्रा सुरु भएको किंवदन्ती समेत रहेको छ।
आठ दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान पनि गर्ने गरिन्छ। आजकल गाईजात्राकै अवसरमा समाजमा भएका विकृति एवम् विसंगतिलाई उजागर गरिन्छ, पत्रपत्रिकाहरुमा पनि व्यंग्यात्मक अंकहरु प्रकाशन गरिन्छ।
सार्वजनिक रूपमा मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गरी त्यसैमार्फत सामाजिक एवम् राजनीतिक घट्नाक्रमहरुको व्यंग्य गरिन्छ। चर्चित हाँस्य कलाकारहरुबाट आयोजना हुने व्यंग्यात्मक कार्यक्रमहरु दर्शकहरुले पनि रुचाउने गरेका छन्।