पैसा कमाउन अबोध शिशुलाई कार्टुनमा हालेर फालिएको खुलासा
काठमाडौं। साउन १२ गते काठमाडौंको एउटा घटना युट्युब र समाचार पोर्टलहरुमा निकै छायो। त्यसमा भनिएको थियो– काठमाडौंमा कार्टुनमा फालिएकी एक बालिका भेटिइन्। फरकधारले पनि १४ साउनमा यो घटनाबारे एक रिपोर्ट बनाएको थियो।
हामीले त्यति बेला यो समाचार तयार पार्न केयर चाइल्ड अर्फानेज नामको बालगृहकी सन्चालिका पुष्पा अधिकारीसँग सम्पर्क गरेका थियौँ। उनले आफ्नो बालगृहका बालबालिकाले बच्चा भेटेको र आफूले त्यो बच्चालाई संरक्षण दिएको बताएकी थिइन्। बच्चा माग्न केही मानिसहरु आए पनि आफूले नदिने पनि उनले बताएकी थिइन्।
तर, यो घटनामा अब अर्को खुलासा भएको छ। खासमा पुस्पा अधिकारीले हामीलाई मात्र होइन, सबैलाई झुक्याएकी रहिछिन्। खासमा ती बालिका कार्टुनमा भेटिनु त एउटा नियोजित नाटक पो रहेछ।
काठमाडौंको कपनमा फालिएर यो घटना रचिएको त खासमा पुस्पा र ती बालिकाकी आमाले पैसा कमाउनका लागि पो रहेछ! अहिले केही युट्युब च्यानलहरुमा पुस्पाले यो कुरा स्वीकार गरेको भिडियो आइसकेको छ। उनले प्रहरीकहाँ पुगेर यो स्वीकार गरेकी छिन् कि यो उनले रचेको एउटा नाटक मात्र थियो।
र, पैसा कमाउनका लागि उनले यो सब गरेको पनि खुलेको छ। अहिले बाहिरिएको भिडियोमा उनले भनेकी छिन्, ‘मैले एउटा महिला भएर अर्की महिलालाई सहयोग गर्न यस्तो गरेकी हुँ।’ उनले यी बालिका वैदेशिक रोजगारीमा गएकी एक महिलाको भएको पनि बताएकी छिन्। ती महिला कोरोना भाइरस महामारीपछि सरकारले उद्धार गरेर नेपाल ल्याएका महिलामध्येकी एक भएको बताइएको छ।
अहिले ती महिला पनि अर्को कुनै संस्थामा बसेकी भनिएको छ। उनको परिचय गोप्य पनि राखिएको छ। यी दुईले नै योजना बनाएर यो घटना बनाएका रहेछन्। अब यी दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। ती महिलाले आफ्नी शिशु पनि लिएर गएको सिसिटिभी फुटेजहरुमा देखिएको छ।