इजरायलले ३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्र बनाउँदै
एजेन्सी। इजरायलले ३० सेकेन्डमै कोरोना भाइरस परीक्षण गर्ने यन्त्र विकास गर्न लागेको छ। यस यन्त्रले ब्रेथलाइजर अर्थात् मानिसको स्वासबाट संक्रमण भए नभएको पत्ता लगाउने दाबी यन्त्र निर्माता कम्पनी नानोसेन्टले गरेको छ। यसको विकासले महामारीको अवस्थालाई सामान्य बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ। परीक्षण किटले ८५ प्रतिशत सही नतिजा दिएको नानोसेन्टको भनाइ छ।
किटले एक दुई महीनाभित्रै नियामक निकायबाट स्वीकृति पाउने बताइएको छ। ब्रेथलाइजरले प्रयोगशालामा हुने परीक्षणलाई भने विस्थापित गर्न नसक्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृत ओरेन ग्याभ्रिलीले बताए।
यद्यपि, पछिल्लो समय विश्वभर कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको परिप्रेक्ष्यमा समूदायमा बृहतस्तरमा परीक्षण गर्न, मानिसहरुको आत्मविश्वास बढाउन र सामान्य अवस्थामा झैं व्यवहार गर्न भने यस मेसिनले मद्दत गर्ने बताइएको छ।