यी ६ जिल्ला कोरोना सङ्क्रमणबाट मुक्त भए
काठमाडौँ। नेपालमा पछिल्लो समय कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या दिनानुदिन घट्दै गइरहेको छ। पछिल्लो २४ घण्टामा ५७ जनामा मात्र कोरोना भाइरसको सङ्क्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालका ६ वटा जिल्ला कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन्। जसमा भोजपुर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ र हुम्ला रहेका छन्। यहाँ एक जना पनि सक्रिय सङ्क्रमित छैनन्। यी जिल्लामा कोरोना सङ्क्रमित देखिए पनि निको भई घर फर्किसकेका छन्। हालसम्म रौतहट, कैलाली, र बाजुरामा भने पाँच सयभन्दा धेरै कोरोना सङ्क्रमित रहेका छन्।
मन्त्रालयका अनुसार आज शनिवार नयाँ सङ्क्रमित हुनेहरूमा तेह्रथुमका २, इलामका १, मोरङका ९, झापाका १, बाराका १, सर्लाहीका २, नुवाकोट १, बाग्लुङका १, पर्वतका १, गुल्मीका २, पाल्पा २, दैलेखका ५, सल्यानका १, रुकुम पश्चिम ३ , डडेलधुरा २, बझाङका २, डोटीका ७ जना, कैलालीका १३ र कञ्चनपुरका १ जना रहेका छन्।
योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १७ हजार ५ सय २ पुगेको छ। पछिल्लो २४ घण्टामा १ सय ३ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार ६ सय ३७ पुगेको छ।