डब्लूएचओ भन्यो : कोरोना विरुद्ध निर्णायक काम गर्न नसके अवस्था थप खराब हुन सक्छ
काठमाडौँ। कोरोना भाइरस विरुद्ध निर्णायक काम गर्न नसके अवस्था थप खराब हुने विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले चेतावनी दिएको छ। सङ्गठनका निर्देशक डाक्टर टेड्रोज अद्हानोम गेब्रिसियसले विभिन्न देश गलत दिशामा अघि बढिरहेको भन्दै कोरोना भाइरस विरुद्ध निर्णायक काम गर्न नसके अवस्था थप खराब हुने चेतावनी दिएका हुन्। उनले नेताहरूका मिश्रित सन्देशले विभिन्न देशका नागरिक अलमलमा परेका पनि दावी गरेका छन्।
कोरोना भाइरस शत्रुका रुपमा भए पनि विभिन्न देशका सरकार र सर्वसाधारणले गरेको हेलचेक्राईंले यो नदेखाएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्। यस्तै सावधानी नअपनाइएका देशमा कोरोनाको सङ्क्रमण बढिरहेको पनि गेब्रिसियसको भनाई रहेको छ।
कोरोना फैलिन नदिन व्यक्तिगत दूरी, हात धोइरहनु र मास्क लगाउनु अनिवार्य भए पनि धेरै देशका सरकार र नागरिकले यसलाई बेवास्ता गरेको उनले बताए। अमेरिकी देशहरू अझै पनि कोरोना सङ्क्रमणको केन्द्रमा रहेको गेब्रिसियसले बताएका छन्।