ताप्लेजुङमा पनि भेटियो कारोना संक्रमित
ताप्लेजुङ। कोरोना संक्रमणका दृष्टीले अहिले सम्म सुरक्षित रहेको ताप्लेजुङमा बुधवार पहिलो पटक एकजना पीसीआर पोजेटिभ व्यक्ति फेला परेका छन्। साउदी अरबबाट फर्किएका सिरिजङ्घा गाउँपालिकाका ति युवा ज्वरो सहितका समस्याका कारण उपचारका लागि जिल्ला अस्पतालको फिबर कक्षमा भर्ना भएका थिए।
बिभिन्न देशबाट फर्किएर क्वारेन्टाईनमा बसेका नागरिक र शंकास्पद गरी २० जनाको स्वाब सोमवार संकलन गरी परीक्षणका लागि पठाईएकोमा ति व्यक्तिको पीसीआर रिर्पोट भने पोजेटिभ आएको हो। यसअघि २ जनाको आरडीटी रिर्पोट पोजेटिभ आएपनि पछि पीसीआर परीक्षण गर्दा उनीहरुको रिर्पोट नेगेटिभ आएको थियो।
यसअघि ताप्लेजुङमा १ सय ५२ जनाको पीसीआर परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आईसकेको छ। परीक्षण लागि २० जनाको स्बाव पठाईएकोमा १ जनाको पीसीआर रिर्पोट पोजेटिभ आएपछि १ सय ७१ जनाको पीसीआर रिर्पोट भने नेगेटिभ आएको छ। पीसीआर रिर्पोट पोजेटिभ आएका व्यक्तिलाई उपचारका लागि मेची अञ्चल अस्पताल झापा वा मोरङको गोठगाउँस्थित केन्द्रमा पठाउने बारे छलफल भईरहेको स्रोतले जानकारी दिएको छ।
पीसीआर पोजेटिभ आएको बारे कोभिड–१९ नियन्त्रण जिल्ला समितिले भने अहिले सम्म औपचारिक केहि जानकारी दिएको छैन। यसअघि भारतबाट फर्किएर झापाको बुद्धशान्ति र सुनसरीको भोक्राहास्थित क्वारेन्टिनमा रहेका बेला गरिएको परीक्षणमा ताप्लेजुङमा ४ जना कोरोना संक्रमित फेला परेपनि ताप्लेजुङमै पीसीआर परीक्षण रिर्पोट पोजेटिभ आएको भने यो पहिलो पटक हो।
यसअघि झापाको बुद्धशान्ति र सुनसरीको भोक्राहास्थित क्वारेन्टिनमा फेला परेका ताप्लेजुङका कोरोना संक्रमित भने निको भएर घर फर्कि सकेका छन्।