बजेटको प्राथमिकता : करमा सहुलियत, ठूला आयोजनाको तीव्रता, चाँडै उच्च आर्थिक वृद्धि

वेलकम खबर
बैशाख २९, २०७७

सरकारले कोरोनापछिको आर्थिक पुनरुत्थान गर्न करमा सहुलियत, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा लगानीका अतिरिक्त ठूला आयोजनालाई प्राथमिकता दिने भएको छ । कोरोनाबाट प्रभावित निजी क्षेत्रलाई सम्बोधन हुने गरी आगामी आर्थिक वर्षको बजेटमार्फत उद्योग–व्यवसायलाई करमा सहुलियत दिइने अर्थमन्त्री डा. युवराज खतिवडाले आइतवार संसद्मा प्रस्तुत गरेको आगामी बजेटको सिद्धान्त तथा प्राथमिकतामा उल्लेख छ । वित्तीय तथा मौद्रिक उपकरणमार्फत आर्थिक पुनर्जागरण र पुनरुत्थान गर्ने अर्थमन्त्री डा. खतिवडाले बताए ।

यसअघि अर्थमन्त्री खतिवडाले कोरोना महामारीको असर सरकार एक्लैले वहन गर्न नसक्ने भन्दै निजी क्षेत्रलाई सरकारबाट धेरै राहत अपेक्षा नगर्न आग्रह गर्दै आएका थिए । उनले आर्थिक पुनरुत्थानका लागि सरकारसँग पर्याप्त स्रोत नभएको बताउँदै त्यसका लागि कर नै बढाउनुपर्ने बताएका थिए । तर, बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै उनले करमा सहुलियत दिने, राजस्वको दरभन्दा दायरा विस्तारमा ध्यान दिने प्रस्ट पारेका छन् ।

‘कोरोना महामारीका कारण निजी क्षेत्रका व्यवसायलाई परेको असर सम्बोधन गर्न कर सहुलियत र मौद्रिक उपकरणमार्फत आर्थिक पुनर्जागरण र पुनरुत्थान गर्न सक्षम तुल्याउनेतर्फ बजेट उन्खुम हुनेछ,’ उनले भने, ‘राजस्व प्रणालीलाई व्यवसायमैत्री बनाइनेछ, द्रुत आर्थिक वृद्धिका लागि निजी क्षेत्रको लगानी तथा व्यवसाय प्रवद्र्धन गरिनेछ ।’ राजस्व प्रणालीलाई प्रगतिशील, न्यायपूर्ण, पारदर्शी र व्यवसायमैत्री बनाउँदै आन्तरिक आयलाई राजस्वको मूल आधारका रूपमा विकास गरिने अर्थमन्त्री खतिवडाले बताए । करको दरभन्दा दायरा विस्तार, कर परिपालनामा वृद्धि र राजस्व चुहावट नियन्त्रणमार्फत थप राजस्व परिचालन गरिने उनले जानकारी गराए । उनका अनुसार विद्युतीय प्रणालीबाट राजस्व भुक्तानी गर्न प्रोत्साहित गरिनेछ ।

उच्च आर्थिक वृद्धिमा शीघ्र प्रवेश गर्ने बजेट
आगामी आर्थिक वर्षको बजेटलाई छिट्टै पुनः उच्च आर्थिक वृद्धिदर प्राप्त गर्ने गरी तयार गरिने खतिवडाले बताए । उनले भने, ‘कोरोनाका कारण अर्थतन्त्रमा देखा परेका शिथिलताको अन्त्य गर्दै आर्थिक गतिविधिलाई नयाँ विश्वास, क्रियाशीलता र द्रुत गतिका साथ अघि बढाउने, स्थायित्वसहितको उच्च आर्थिक वृद्धिदरको चरणमा शीघ्र प्रवेश गर्नेतर्फ बजेट केन्द्रित हुनेछ ।’

ठूला आयोजनालाई स्रोत अभाव नहुने 
अर्थमन्त्री डा. खतिवडाले आगामी आवको बजेटले रूपान्तरणकारी आयोजना र कार्यक्रमहरू कार्यान्वयनका लागि साधनको कमी हुन नदिने बताएका छन् । उनले सुरुङमार्ग, रेलमार्ग, जलमार्गका आयोजनाको कार्यान्वयनलाई तीव्रता दिइने जानकारी दिए । ‘सडक निर्माणलाई प्राथमिकतामा राखी निर्माणाधीन द्रुतमार्ग, व्यापारिक मार्ग, उच्च गतियुक्त राजमार्ग, शाखा सडक तथा अन्य रणनीतिक र स्थानीय तहको केन्द्र जोड्ने सडक निर्माणमा आवश्यक स्रोत व्यवस्थापन गरिनेछ ।’ अन्तरदेशीय प्रसारण लाइनको निर्माणलाई तीव्रता दिई विद्युत् व्यापारको थप पूर्वाधार तयार पारिने बजेटको प्राथमिकतामा छ ।

पर्यटन क्षेत्रका पुनरुत्थान उच्च प्राथमिकतामा
आगामी आवको बजेटले होटेल, रेस्टुरेन्ट, एयरलाइन्स, ट्राभल, टे«किङ, पर्वतारोहणलगायत सम्पूर्ण पर्यटन क्षेत्रको पुनरुत्थानलाई उच्च प्राथमिकता दिइने उनले बताए । ‘पर्यटन गन्तव्य र वस्तुलाई विविधीकरण गर्नुका साथै पर्यटन पूर्वाधारको विस्तार गरिनेछ, विमानस्थल निर्माण र स्तरोन्नतिको कार्य अघि बढाइनेछ,’ उनले भने, ‘आन्तरिक पर्यटन र संरक्षित क्षेत्रलक्षित पर्यटनको माध्यमबाट ग्रामीण उद्यम र स्थानीय उत्पादन वृद्धिलाई जोड दिइनेछ ।’

स्वास्थ्य सेवा र पूर्वाधार प्राथमिकतामा
आगामी आवको बजेटले स्वास्थ्य सेवा विस्तार र स्वास्थ्यसँग सम्बन्धित पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । ‘तीनै तहको सह–लगानीमा स्वास्थ्य पूर्वाधार विकास, जनशक्तिको क्षमता अभिवृद्धि र स्वास्थ्य बिमाको विस्तारमार्फत स्वास्थ्य प्रणालीलाई उत्थानशील बनाइनेछ,’ उनले भने । भविष्यमा आउन सक्ने विपद्को पूर्वतयारी र व्यवस्थापन गर्ने कार्यतर्फ आगामी वर्षको बजेटले पर्याप्त ध्यान दिने उनले बताए ।

कृषि क्रान्तिलाई बजेट रोजगारीमा ध्यान
आगामी आवको बजेटले कृषि क्रान्ति गर्ने गरी स्रोत–साधन व्यवस्थापन गर्ने अर्थमन्त्रीले जनाए । ‘अर्थतन्त्रको भरपर्दो आधार कृषिमा टुटेको उत्पादन सम्बन्धलाई कोरोना महामारीपश्चात् प्राप्त हुने सम्भावनालाई पुनस्र्थापित गर्ने अवसरका रूपमा लिइनेछ,’ उनले भने, ‘कृषि क्षेत्रलाई व्यवसायीकरण र यान्त्रिकीकरण गर्दै खाद्य सुरक्षा, कृषकको आयस्तरमा सुधार, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गरिनेछ ।’

बजेटले रोजगारीमा विशेष ध्यान दिने देखिएको छ । वैदेशिक रोजगारीमा देखिन थालेको चुनौतीलाई अवसरका रूपमा लिएर स्वदेशमा काम र रोजगारी बढाई तीव्र आर्थिक वद्धि गरिने उनको भनाइ छ । श्रममूलक उद्योग तथा निर्माणमा थप पुँजी परिचालन गर्न निजी क्षेत्रमा आन्तरिक र प्रत्यक्ष बाह्य लगानीलाई प्रोत्साहित गर्न बजेटले प्राथमिकता दिनेछ । कोरोनाका कारण गुमेको रोजगारीलाई पुनर्स्थापित गर्न, वैदेशिक रोजगारीबाट फर्किनेहरूलाई रोजगारी उपलब्ध गराउन र स्वरोजगारी बढाउन कृषि, साना, घरेलु तथा मझौला उद्यमहरू र सेवा क्षेत्रमा संलग्न हुन प्रेरित गर्ने गरी बजेट तर्जुमा गर्ने उनले बताए । रोजगारी सिर्जना गर्ने र न्यूनतम रोजगारीको प्रत्याभूति दिने कार्यक्रमलाई प्रदेश र स्थानीय तहसँगको सहकार्यमा एकीकृत रूपमा सञ्चालन गरिने उनले बताए । नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु