ताप्लेजुङ समाज र कपन बौद्ध गुम्बाले दिए ताप्लेजुङका अग्नि पीडितलाई राहत

वेलकम खबर
बैशाख २६, २०७७

ताप्लेजुङ, । ताप्लेजुङका अग्नि पीडित परिवारलाई राहत स्वरुप शुक्रवार नगद तथा जिन्सी सामग्री प्रदान गरिएको छ । ताप्लेजुङ समाज नेपाल काठमाडौले नगद तथा नेपाल बौद्ध महायान केन्द्र गुम्बा कपन काठमाडौले जिन्सी सामग्री प्रदान गरेका छन् । एकद्धार प्रणालीमार्फत मात्रै राहत बितरण गर्न पाईने भएकोले दुबै संस्थाले फुङ्लिङ नगरपालिकाको समन्वयमा राहत बितरण गरेको नगरप्रमुख छत्रपति प्याकुरेलले जानकारी दिए ।

ताप्लेजुङ समाज काठमाडौले गत शुक्रवार फुङ्लिङमा भएको आगलागीका ३० पीडित परिवार र मैवाखोला गाउँपालिका वडा नं ३ साँघुका १ र आठराई त्रिबेणी गाउँपालिका वडा नं १ निघुरादिनका थप एक गरी ३२ पीीडत परिवारलाई प्रति परिवार १० हजार रुपैंयाका दरले राहत रकम बितरण गरेको छ । समाजका महासचिव अग्नि पौडेलका अनुसार आपतकालिन राहत स्वरुप यो रकम बितरण गरिएको हो भने पीडित परिवारको दीर्घकालिन पुर्नस्थापना तथा पुर्नबासका लागि समेत समाजले योजना बनाई रहेको छ । समाजले बिपद् पीडित जिल्लाबासीको सहयोगका लागि कुम्भकर्ण आपतकालिन राहत कोष बनाएको छ ।

कोषले पीडित परिवारलाई आपतकालिन राहत स्वरुप सबै पीडित परिवारलाई एउटै दरको राहत सहयोग गरेको र पछि पुर्नस्थापना तथा पुर्नवासका लागि क्षतिको आधारमा सहयोग गर्ने कोष संयोजक युवराज गुरुङले जानकारी दिए । यस्तै नेपाल बौद्ध महायान केन्द्र गुम्बा कपन काठमाडौले पीडित ३२ घर परिवारलाई भाडा वर्तन,लत्ताकपडा र खाद्य सामग्री बितरण गरेको छ । केन्द्रका अभियन्ता भिक्षु थुप्तेन जिग्डोल लामाका अनुसार केन्द्रमार्फत प्रति परिवार डबल बेडको डसना १ थान,चाईनिज सिरक १ थान,डबल बेडको तन्ना १ थान,२–२ वटा सिरानी,३ लिटरको प्रेशर कुकर १ थान,कराई,डाडु,पन्यु र कित्ली १–१ थान तथा ३० किलोग्रामको जुनेली चामल १–१ बोरा बितरण गरिएको छ ।

अग्नि पीडित परिवारको परार्मश तथा फुङ्लिङ नगरपालिका र जिल्ला बिपद् व्यवस्थापन समितिको अनुरोधमा पीडितहरुको तात्कालिक आवश्यकताको आधारमा जिन्सी सामग्री बितरण गरिएको नेपाल बौद्ध महायान केन्द्र गुम्बा कपन काठमाडौकोतर्फबाट स्थानीय रुपमा संयोजन गर्ने दावा शेर्पाले जानकारी दिए । यसअघि जिल्ला बिपद् व्यवस्थापन समितिको बैठकले आगलागी पीडितहरुलाई जिन्सी सहयोग गर्नेहरुले उनीहरुको परार्मश र तात्कालिक आवश्यकताको आधारमा सहयोग गर्नुपर्ने निश्कर्ष समत निकालेको थियो । राहत बितरण कार्यक्रममा तत्कालिन संबिधानसभा सदस्य पासाङ शेर्पा,पूर्व सांसद तिलकुमार मेन्याङ्वो,प्रदेशसभाका सांसदहरु टंक आङ्बुहाङ,बलबहादुर साम्सोहाङ र होमकुमारी साँवा,जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन, फुङ्लिङनगरप्रमुख प्याकुरेल,फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष सरोज एभेङ,फुङ्लिङ नगर उपप्रमुख बमबहादुर भट्टराई९तारा०,प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलासहित ताप्लेजुङ समाज नेपाल काठमाडौ र नेपाल बौद्ध महायान केन्द्र गुम्बा कपन काठमाडौका पदाधिकारी तथा सदस्य सहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु