तीन सातमा तीन किलोमिटर ट्र्याक

ताप्लेजुङ – तिब्बतको रिउ बजारका मजदुरले पूर्वोत्तर नेपालको व्यापारिक नाका ओलाङ्चुङगोालाबाट सुरु हुने उत्तर–दक्षिण (मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडकको तीन किलोमिटर ट्र्याक तीन सातामा नै खोलेका छन्। सात महिनामा पहाडी क्षेत्रको २५ किलोमिटर सडकको ट्र्याक खोलेर चर्चा कमाएको यही समूहले यो सडकको ट्र्याक खोलेको हो।
ओलाङचुङगोलाबाट लेलेपको लुङ्थुङतर्फ तीन किलोमिटरको ट्र्याक खुलेपछि यो सडक योजनाको ट्र्याक खुल्न बाँकी दुरी १७–१८ किलोमिटरमा सीमित भएको छ। यो सडक निर्माणको मुख्य जिम्मेवारी पाएको एसबिए/एलाइट जेभी (संयुक्त उपक्रम) का चारवटा उपकरणले लुङ्थुङबाट गोलातर्फ धमाधम ट्र्याक खोल्ने काम अघि बढाइरहेकोले बाँकी दुरी छिचोलिन लामो समय नलाग्ने ठेकेदार कम्पनीका साइट इन्चार्ज राजीव लामिछानेले जानकारी दिए।
ठेकेदार कम्पनीहरु निर्धारित समयअगावै काम सकेर धन्यवादको पात्र बन्न चाहन्छन्। ‘अहिलेसम्मको प्रगतिले धन्यवाद पाउने मिति नजिकिँदै गएको आभाष हुन थालेको छ,’ लामिछानेले भने। कम्पनीका लागि यो ट्र्याक खोल्नु र गोलाबाट नेपाल–तिब्बत सीमा नाका टिपतालासम्मको करिब २५ किलोमिटर स्तरोन्नति सम्पन्न गर्न अझै करिब दुई वर्ष समय छ। गोला–टिपताला खण्डको स्तरोन्नतिका लागि तिब्बतको रिउ सरकारले पनि सघाउने बताइसकेको छ।
यो अवस्था कम्पनीका लागि समय सीमाअगावै कार्य सम्पन्न गर्ने विश्वासिलो आधार बन्न सक्छ। साइट इन्चार्ज लामिछाने गोला र लुङ्थुङ दुवै क्षेत्रबाट ट्र्याक खोल्ने काम भइरहेकोले निर्धारित समयअगावै काम सकिनेमा ढुक्क छन्। निर्माण कार्यका लागि अहिलेको समय उपयुक्त पनि छ। यही मौकामा उल्लेख्य प्रगति हुने गरी निर्माण कम्पनीले धमाधम काम अघि बढाइरहेको हो। गोलाबाट लुङ्थुङतर्फ जुन गतिमा निर्माण कार्य अघि बढेको छ, लुङ्थुङबाट गोलातर्फ भने गति केही मन्द नै हुन्छ। चट्टानी भूगोल र ब्लास्टिङ गरेर पहरा फोर्नुपर्ने अवस्थाका कारण लुङ्थुङबाट गोलातर्फको ट्र्याकको गति उताको जस्तो तीव्र नभएको लामिछानेले जानकारी दिए।
निर्धारित समयभन्दा छिटो काम सम्पन्न गर्ने योजनासहित संयुक्त उपक्रमका ठेकेदार कम्पनीले तिब्बतको रिउस्थित तिउकान्टी क्षेत्रका निर्माण व्यवसायीलाई गोलाबाट लुङ्थुङतर्फ करिब १० किलोमिटर ट्र्याक खोल्न पेटी ठेक्का दिएको हो। यसअघि सीमावर्ती टिपतालाबाट नेपाली व्यावसायिक केन्द्र गोलासम्मको २५ किलोमिटर ट्र्याक खोल्न पनि तिउकान्टी क्षेत्रका निर्माण व्यवसायी र मजदुर सहभागी थिए। स्थानीय बासिन्दाको ठूलो हिस्सा तथा नेपाल सरकार, सीमावर्ती फक्ताङ्लुङ गाउँपालिका र उति बेला संसदेमा प्रतिनिधित्व गर्ने सांसद विकास कोषको केही हिस्सा गरी तीन करोड रुपैयाँभन्दा बढी खर्च गरेर टिपताला–गोला क्षेत्रको ट्र्याक खोलिएको थियो। फुङ्लिङको सुकेटारबाट लेलेपको लुङ्थुङसम्म पुगेको सडकलाई निर्धारित समयअगावै गोला जोड्ने कार्यमा दुवैतर्फबाट काम अघि बढाउँदा राम्रो हुने मेसो पाएको एसबिए/एलाइट जेभीले यस कार्यका लागि कूटनीतिक पहल गरेको थियो। ‘परराष्ट्र मन्त्रालयमार्फत सुरु भएको कूटनीतिक पहल ल्हासा महावाणिज्य दूतावासले स्वीकारेपछि यो कार्य सम्भव भएको हो,’ गोलाबाट तिब्बती मजदुर र निर्माण उपकरणबाट सडक निर्माण कार्य भइरहेकोप्रति संकेत गर्दै उनले भने।
रिउ मामलाका जानकार एवं फक्ताङ्लुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङका अनुसार तिब्बतको रिउ सरकार गोलाबाट लुङ्थुङतर्फको सडक निर्माणका लागि सहयोग गर्न इच्छुक थियो। कूटनीतिक आवश्यकता पूरा गरे आफूहरुले सडक निर्माणका लागि मध्यस्थता गर्ने रिउ सरकारको संकेत पाएपछि भएको प्रयास सफल भएपछि तिब्बती उपकरण र मजदुरले गोलाबाट काम थालेको वालुङले बताए।वालुङलाई रिउ सरकारले विश्वासिलो पात्र मान्ने गरेको छ। नेपाल–तिब्बतका अधिकारीलाई सहयोग आदान–प्रदान गर्न उनी मध्यस्थकर्ताको रुपमा मात्रै नभएर दोभाषे समेत बन्छन्। टिपताला–गोला सडकको ट्र्याक खोल्न तिब्बती मजदुर र उपकरण प्रयोग गराउन पनि उनकै मध्यस्थता महत्वपूर्ण थियो। ‘यो कार्यले पूर्वीपहाड हुँदै तराई जोड्ने सपना मात्र होइन, नेपाल, भारत र चीन व्यापारको आधार समेत तय गरेको छ,’ उनले भने।नागरिक दैनिकबाट