नेपाल र चीनबीच २० वटा सम्झौता, रेलको सम्भाव्यता अध्ययन गरिने (सूचीसहित)

वेलकम खबर
अशोज २६, २०७६

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच नेपाल चीन सीमापार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययन गर्ने सम्झौता भएको छ । शनिबार नेपाल आएका राष्ट्रपति सीले रात्रीभोजलाई सम्बोधन गर्ने क्रममा रेल्वेको सभाव्यता अध्ययन गरिने बताएका थिए ।

चीनको केरुङबाट काठमाडौंसम्म ल्याउने भनिएको रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन भने यसअघि नै भइसकेको छ । पूर्वसम्भाव्यता अध्ययन टोलीले भौगोलिक कठिनाइ र खर्चिलो हुने भए पनि रेलमार्ग बनाउन असम्भव भने नभएको निष्कर्ष निकालेको बताइएको छ ।

होटल सोल्टीमा आयोजित हस्ताक्षर समारोहलगत्तै चिनियाँ राष्ट्रपति स्वदेश फर्किएका छन । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा सी शनिबार नेपाल आएका थिए ।

संयुक्त वक्तव्य भने केहीबेरपछि जारी हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए ।

यस्तो छ नेपाल–चीनबीच भएको सहमतिका बुँदाहरु

१) नेपाल सरकार र जनवादी गणतन्त्र चीनबीच सीमा व्यवस्थापन प्रणालीबारे सम्झौता भएको छ।

२) नेपाल सरकार र जनवादी गणतन्त्र चीनबीच प्रशासनिक क्षमता वृद्धिका लागि सहकार्य आदानप्रदान गर्ने समझदारी (एमओयू) भएको छ।

३) नेपाल र चीनबीच आपराधिक मामिलामा दुईपक्षीय कानुनी सहायताको सन्धि भएको छ।

४) नेपाल र चीनबीच सगरमाथारचोमोलोङ्माको संरक्षणमा सहकार्य गर्ने समझदारी भएको छ।

५) लगानीका मुख्य परियोजनालाई प्रवद्र्धन गर्ने र नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा पुनर्संरचना आयोगबीच उत्पादक क्षमता वृद्धिमा सहकार्य गर्ने समझदारी भएको छ।

६) चीनको छेन्दुमा नेपालको कन्सुलेट जनरल (वाणिज्य दूतावास) स्थापना गर्नेसम्बन्धी सम्झौतापत्र आदानप्रदान भएको छ।

७) नेपाल–चीन सिमापार रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययनका लागि नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच समझदारी भएको छ।

८) काठमाडौं महानगरपालिका र चीनको नाञ्जिङ सहर बीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता भएको छ।

९) बुटवल उपमहानगरपालिका र चीनको जियान सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता भएको छ।

१०) परम्परागत औषधिमा सहकार्य गर्न नेपालको स्वास्थ्य र जनसंख्या मन्त्रालय तथा चीनको नेशनल एडमिनिस्ट्रेसन अफ ट्रेडिसनल चाइनिज मेडिसिनबीच समझदारी भएको छ।

११) नेपालको गृह मन्त्रालय र चीनको आकस्मिक व्यवस्थापन मन्त्रालयबीच विपद् जोखिम न्यूनीकरण तथा आकस्मिक सेवामा सहकार्य गर्ने समझदारी भएको छ।

१२) चीनको सुप्रिम पिपुल्स प्रोसिक्युटर कार्यालय र नेपालको महान्यायाधिवक्ताको कार्यालयबीच सहकार्य गर्ने समझदारी भएको छ।

१३) नेपालको त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस इन्स्टिच्युट हेडक्वार्टर्सबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गर्ने सम्झौता भएको छ।

१४) नेपालको कृषि विभाग र चीनको भन्सार सामान्य प्रशासनबीच साइट्रस(अमिलो स्वादका) फलफूल चीन निर्यातका लागि बिरुवालाई स्वस्थ राख्नेसम्बन्धी मापदण्डको कार्य्विधि निर्माण गर्ने समझदारी भएको छ।

१५) नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच व्यापारबारे छलफल गर्न दुवै देशका प्रतिनिधि सहभागी हुने संयुक्त संयन्त्र बनाउने समझदारी भएको छ।

१६) नेपालमा चीनले सहयोग गरेको भूकम्प सुपरिवेक्षण सञ्जाल परियोजनाका लागि वितरण र स्वीकृतिपत्रमा समझदारी भएको छ।

१७) नेपालको अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानीमा सहकार्यका लागि दुवै देशको प्रतिनिधि सहभागी हुने गरी कार्यदल स्थापना गर्ने समझदारी भएको छ।

१८) नेपालको अर्थ मन्त्रालय र चीनको अन्तर्रा्ष्ट्रिय विकास सहकार्य संस्थाबीच सुरुङ निर्माणमा सहकार्य गर्ने समझदारी भएको छ।

१९) नेपाल–चीन सीमा सुरक्षा सामग्री र कार्यालय सामग्रीका लागि सम्झौतापत्र आदानप्रदान भएको छ।

२०) चीनको सहयोगमा उपत्यकामा सञ्चालन हुने खानेपानी आपूर्ति सुधार परियोजनाको सम्भाव्यता अध्ययनका लागि बैठकको ‘माइन्युट’का लागि समझदारी भएको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु