काबेली ‘बी–१’ को काम ९८ प्रतिशत सकियो

ताप्लेजुङ, । काबेली खोलाबाट उत्पादन गर्न लागिएको काबेली ‘बी–१’ आयोजनाको काम ९८ प्रतिशत सकिएको छ । ताप्लेजुङ र पाँचथरको सिमाना भई बग्ने काबेली खोलाबाट उत्पादन गर्न लागिएको २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ जलविद्युत आयोजनाको काम अब २ प्रतिशत मात्र बाँकी रहेका हो ।
अरुण काबेली पावर लिमिटेड कम्पनीद्वारा २०७२ मङ्सिरदेखि निर्माण सुरु भएको आयोजनाको कामको प्रगति हालसम्म ९८ प्रतिशत पूरा भएको आयोजनाका जन सम्पर्क अधिकृत डिल्ली सुबेदीले जानकारी दिए । सुवेदीका अनुसार आयोजना निर्माणको हालसम्म बाँध निर्माणको कार्य करिव पूरा भएको छ भने पाइप लाइनको पाँच हजार १०० मिटरमा पाइप बिछ्याउने कार्य पुरै सम्पन्न भएको छ । विधुत गृह निर्माणको कार्य पनि करिव सम्पन्न भइसकेको सुबेदीले बताए ।
बाँध निर्माण, पाइप बिछ्याउने कार्य, विधुत गृह लगायत आयोजनाको मुख्य कामहरु सम्पन्न भइसकेको सुबेदीले बताए । आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले हाल निर्माण गरिरहेको काबेली करिडोर १३२ केभीए डबल सर्किट लाइनमा जडान गरिने भएअनुसार पाँचथरको हिलिहाङ १ स्थित अमरपुरमा रहेको शव–स्टेशनसम्म ट्रान्समिसन लाइनको १६ वटा टावरमार्फत तार टाङ्ने कार्य समेत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।
यस्तै विद्युत गृहसँगै शव–स्टेशन निर्माणको कार्य पनि सम्पन्न भइसकेको छ । बाँकी रहेको करिव दुई प्रतिशत कार्य सम्पन्न गरेर चाँडै आयोजनाको परीक्षण गर्ने तयारी भइरहेको जनसम्पर्क अधिकृत सुबेदीले दिए । आयोजनाको लागत भने करिव पाँच अर्व रुपियाँ पुगेको सुबेदीको भनाइ छ । उनका अनुसार सुरुमा चार अर्व रुपियाँ लागत अनुमान गरिएको थियो । आयोजनाका लागि कम्पनीको स्वमित्वसहित संस्थापक शेयरधनीहरुको ७० प्रतिशत, स्थानीय तथा परियोजना प्रभावित क्षेत्रका जनताको १० प्रतिशत र सर्वसाधारण लगानीकर्ताको २० प्रतिशत लगानी रहेको छ ।
संस्थागत शेयरवालामा नविल बैङ्क लिमिटेड, लक्ष्मी बैङ्क लिमिटेड, ग्लोबल आईएमई बैङ्क लिमिटेड, एभरेष्ट बैङ्क लिमिटेड र जलविद्युत विकास तथा लगानी कम्पनी लगायत रहेका छन् । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नं. १ थुम्बेदिन र पाँचथरको याङ्वरक गाउँपालिका वडा नं. ४ थर्पू पुछार त्रिवेणी दोभानमा आयोजनाको मुहान् अर्थात बाँध स्थल र पाँच हजार एक सय मिटर (५.१ किमी) टाढा पाँचथरको याङ्वरक–६ नागीको पिपलबोटेमा पावर हाउस (विद्युत गृह) रहेको छ ।