मेलम्ची खानेपानीका ३० किलोमिटर पाइप फुटे, १६ करोड क्षति

बानेश्वरमा मात्रै फुट्यो १५ किलोमिटर पाइप
वेलकम खबर
जेष्ठ २४, २०७६

काठमाडौं । संरचना निर्माण प्रक्रियामा सरकारी निकायबीच समन्वय नहुँदा काठमाडौंमा बिछ्याइएको मेलम्ची खानेपानी आयोजनाको ३० किलोमिटर पाइप फुटेका छन् । मेलम्ची खानेपानी आयोजना–२ ले पाइप बिछ्याएपछि भएको सडक विस्तार र ढल खन्ने क्रममा बानेश्वर, कालोपुल, बिजेश्वरी, बल्खुलगायत क्षेत्रमा पाइप फुटेका हुन् ।

३० किलोमिटर पाइप फुट्दा १६ करोडको क्षति भएको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेसप्रसाद खत्रीले बताए । क्षति भएका पाइप हटाएर पुनः नयाँ बिछ्याउँदा थप १६ करोड लाग्ने उनले बताए ।

‘हामीले पाइप बिछ्याएको ठाउँमा सडक विभाग र स्थानीय तहले सडक विस्तार गर्दा तथा ढल निर्माण गर्दा पाइप फुटेका हुन्,’ खत्रीले भने, ‘निर्माण व्यवसायीका कमजोरीले समेत पाइप फुटेका छन् । करिब १६ करोड रुपैयाँबराबरको क्षति पुगेको छ । अब पुनः बिछ्याउँदा उत्ति नै खर्च हुन्छ ।’ मुख्य पाइपबाट घर–घरमा लैजान जोडिएका पाइपमा धेरै क्षति पुगेको उनले बताए ।

आयोजनाले उपत्यकामा ०७० देखि पाइप बिछ्याउँदै आएको छ । अहिलेसम्म एक हजार दुई सय किलोमिटर पाइप बिछ्याएकोमा अब तीन सय किलोमिटर बाँकी छ । हाल ललितपुर महानगरपालिका क्षेत्र, कलंकी, कुलेश्वरमा बिछ्याउने काम भइरहेको छ ।

मेलम्चीको लगानीकर्ता एडिबीले राख्यो चासो
मेलम्ची खानेपानी आयोजनाको लगानीकर्ता एसियाली बिकास बैंक (एडिबी)ले पाइप फुटेको विषयमा चासो देखाएको छ । एडिबीले अर्थ मन्त्रालयलाई पत्र लेख्दै सम्बन्धित सबै निकायलाई बोलाएर छलफल र समन्वय गराउन भनेको छ । निर्देशनालयले पनि पाइप फुटेर पुगेको क्षतिका विषयमा खानेपानी मन्त्रालय र अर्थ मन्त्रालयलाई जानकारी गराएको छ । ‘एडिबीले दोहोरो भुक्तानी गर्न नसकिने भनेर अर्थ मन्त्रालयलाई सबै निकायबीच समन्वय गराउन पत्र लेखेको छ । हामीले पनि जानकारी गराएका छौँ,’ खत्रीले भने ।

पर्याप्त पानी नहुँदा पाइप जाँच्न समस्या 
निर्देशनालयले बिछ्याइएको पाइप जाँच गर्न ट्यांकरको पानी प्रयोग गरिरहेको छ । यसरी गर्दा खण्ड–खण्डमा मात्रै पाइप जाँच सम्भव भएको छ । तर, खण्ड–खण्डमा जाँच गर्दा क्षति पुगेको पाइपको यकिन जानकारी पत्ता लाग्न नसक्ने निर्देशनालयको भनाइ छ ।

‘अहिले देखिएको क्षति ३० किमिमा हो । अझै थप क्षति पनि हुन सक्छ । पानी छैन, ट्यांकरको पानीले जाँच गर्दा कहाँ क्षति पुगेको छ भन्ने यकिन जानकारी पाउन सकिन्न,’ खत्रीले भने, ‘बिछ्याएको लामो समयसम्म पाइप सुक्खा रहँदा त्यसै पनि समस्या आउन सक्छ ।’ मेलम्चीको पानी काठमाडौं नआई पूर्ण रूपमा पाइपको जाँच गर्न असम्भव रहेको उनले बताए ।

१० मध्ये नौ पानीट्यांकी तयार
उपत्यकामा मेलम्ची आयोजनाको सात करोड ५० लाख लिटर क्षमताका १० वटा पानीट्यांकी बनाइएको छ । नौवटा निर्माण सम्पन्न भइरहेका छन् । एउटा अन्तिम चरणमा रहेको निर्देशनालयले जनाएको छ । पाइप बिछ्याउन र पानीट्यांकी निर्माणमा अहिलेसम्म १६ अर्ब खर्च भएको निर्देशनालय प्रमुख खत्रीले बताए ।

मेलम्ची खानेपानी आयोजना–२ कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेसप्रसाद खत्री भन्छन्–सडक र ढल हेर्ने निकायले पाइप फुटेपछि पनि हामीलाई भनेनन्
हामीले पाइप बिछ्यायौँ । पाइप गाडिएको ठाउँमा पछि अन्य निकायले सडक विस्तार र ढल निर्माणको काम गरे । त्यही क्रममा ३० किलोमिटर पाइप फुटेका छन् । सडक विभाग तथा स्थानीय तहले ती काम गर्दा हामीसँग समन्वय गरिदिएको भए क्षति रोकिन्थ्यो । तर, पाइप फुटेपछि पनि जानकारी गराइएन । कतिपय ठाउँमा भने समन्वय हुँदाहुँदै पनि निर्माण व्यवसायीको लापरबाहीले पाइप फुटेका छन् ।

 काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल भन्छन्–केही ठाउँमा क्षति पुग्यो होला हामीले सहयोग गरेका छौँ
काठमाडौं महानगरपालिकाभित्र काम गर्दा सबै निकायले हामीलाई जानकारी गराउनुपर्छ । विभिन्न नियकाका आ–आफ्नै योजना हुन्छन्, समन्वय नगर्दा समस्या आउनु स्वाभाविक हो । सबैलाई समन्वय गर्ने जिम्मा महानगरको हो । सडक विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, मेलम्ची खानेपानी आयोजनालगायतसँग महानगरले समन्वयको पहल गरिरहेको छ । मेलम्चीलाई हानि पु¥याउने हाम्रो सोच होइन, काम गर्ने क्रममा केही ठाउँमा क्षति पुग्यो होला ।

बानेश्वरमा मात्रै फुट्यो १५ किलोमिटर पाइप 
सबैभन्दा ठूलो क्षति बानेश्वर क्षेत्रमा भएको छ । निर्देशनालयका अनुसार बानेश्वरमा मात्रै १५ किलोमिटर पाइप फुटेको हो । महानगरका वडा कार्यालयले ढल निर्माण तथा सडकको काम गर्दा र सडक विभागले सडक विस्तार गर्ने क्रममा बानेश्वरमा धेरै क्षति पुगेको खत्रीले बताए । नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु