बिजनेस सुरु गर्न ७ दिने कार्ययोजना

किताबका लेखकलाई आफ्नो जागिर देखी दिक्क लाग्न थाल्यो I कति अरूको सपना साकार गर्न तर्फ लाग्नु ? अब आफ्नो सपना साकार गर्ने हो भनेर व्यवसाय गर्न तर्फ लागे I उनले अनेकौँ व्यवसाय सुरु गर्ने प्रयास गरे। वर्षौँ बित्यो तर कतै पनि सफलता प्राप्त भएन I
उनको जिन्दगी धरापमा पर्ने अवस्थामा आई पर्यो I उनको जिन्दगी भरको बचत सिद्धिने अवस्थामा आई पुगे I उनी ‘गर या मर’ भन्ने अवस्थामा पुगे I त्यसपछि ७ दिनमा उनले यस्तो काम गरे कि उनको आइडिया सफल हुन पुग्यो । उनको कम्पनी “डब्लु पी कर्भ” अहिले ४ मिलियन डलर बराबरको कम्पनी बनी सक्यो ।
आफ्नो कम्पनी सुरु गर्दाको अभ्यासलाई उनले 7 Days Start Up अर्थात् ७ दिने स्टार्ट अपमा उतारेका छन् । ड्यान नोरिसको किताबमा भनिएको छ कि उद्यमी बन्नका लागी मुख्य ३ वटा कुरा चाहिन्छ।
१) आइडिया : कसैलाई लाग्छ कि व्यवसायमा आइडिया नै सबै कुरा हो भने कसैले भन्छ कि आइडिया जे जस्तो भए पनि हुन्छ। कार्यान्वयन गर्नु जरुरी हुन्छ।
२) कार्यान्वयन : कार्यान्वयन अर्थात् आफ्नो परिकल्पनालाई वास्तविकतामा उतार्ने।
३) आफ्नो काम प्रति पागलपन/ जिद्दीपना
यी ३ वटै कुरा एउटै मान्छेमा हुन्छ भन्ने हुँदैन I त्यसैले नै व्यवसायमा टिमको महत्त्व ठुलो हुन्छ ।
अब कुरा आउँछ, किन ७ दिनको समय अवधिमा केन्द्रित रहेको ? समय अवधि अझ लामो राखिदिए झन् राम्रो काम गर्न सकिन्थियो कि ?
यदि हामीले एउटै काम दुई जनालाई दियौँ; पहिलो व्यक्तिलाई काम गर्न १ वर्ष समय दिइयो र दोस्रो व्यक्तिलाई काम गर्न १ हप्ता (७ दिन) दिइयो भने कसले कस्तो काम गर्ला ?
पहिलो व्यक्तिले १ वर्ष समय छ भनेर बिस्तारै काम गर्छ I केही महिना फुर्सद पनि हुन्छ । उसले काम सहज रूपमा लिन्छ ।
दोस्रो व्यक्तिले ७ दिन लगातार काम गरेर उसले उत्सुकता साथ काम डेलिभरी गर्छ I कामको क्वालीटी पहिलो व्यक्ति भन्दा निम्न हुन्छ I तर उसको काम प्रति श्रद्धा अत्यधिक हुन्छ। कुनै पनि प्रोडक्ट त्यति बेला मात्र सफल हुन्छ जब ग्राहकहरूको प्रतिक्रिया प्राप्त हुन्छ र उनीहरूको आवश्यकता अनुरूप आफ्नो प्रोडक्टमा सुधार गरे सकिन्छ I त्यसपछि बल्ल ग्राहकको आवश्यकता अनुरूपको प्रोडक्ट बन्छ I
अब कुरा आउँछ, ती ७ दिनमा के-के काम गरे आफ्नो बिजनेस सुरु हुन्छ ?
दिन १ : बिजनेस आइडिया स्पष्ट गर्ने
तपाईँको आइडियामा काम गर्न दैनिक रूपमा रमाइलो लाग्नु पर्यो I बिजनेस मोडेल विस्तार गर्न मिल्ने हुनु पर्यो । भविष्यमा बिजनेस संस्थापक बिना पनि चल्ने मोडेलको हुनु पर्यो। बजार सम्भावना स्पष्ट हुनु पर्यो । बिजनेसमा उपयोग भएको सम्पत्ति बेच्ने योग्य हुन सक्नु पर्यो । अहिलेको प्रोडक्ट भविष्यमा सुधार गर्न मिल्ने हुनु पर्यो । प्रोडक्ट
उपभोक्तालाई आनन्द महसुस गराउन सक्नु पर्यो ।
दिन २ : मिनिमम् वायावल प्रोडक्ट अर्थात् प्रोडक्टको पहिलो संस्करणको मोडेल
ग्राहक/ उपभोक्ताको प्रतिक्रिया लिन मिल्ने चरणको प्रोडक्ट के हो ? र कस्तो हुन्छ ? भन्ने कुरा आफू र आफ्ना सहयोगी साथीभाइ प्रस्तुत गर्न सक्नु पर्यो ।
दिन ३ : आफ्नो बिजनेसको नाम
नाम छनोट क्रममा १० वटा नाम सोच्नुहोस् । नाम अरू कसैले प्रयोग गरेको हुनु भएन । धेरै अफ्ठेरो हुनु भएन । नाम धेरै लामो हुनु भएन । याद राखौँ कि तपाईँको व्यवसायको नामले वृहत् विषयवस्तु समावेश गर्दा राम्रो हुन्छ । किन भने काम गर्दै जाँदा प्रोडक्ट र आइडियामा परिवर्तन आउन सक्छ I त्यसैले आफ्नो क्षेत्रलाई बुझाउने नाम छनोट गरे दीर्घकालीन रूपमा उपयोगी हुन्छ ।
दिन ४ : आफ्नो बिजनेसको वेबसाइट निर्माण
बिजनेसका लागी वेबसाइट बनाउनु महत्त्वपूर्ण हुन्छ। किनकि आफ्नो वेबसाइट एउटा मात्र यस्तो मध्यम हो जसमा तपाईँको नियन्त्रण हुन्छ I वेबसाइट मार्फत आफ्ना ग्राहकहरूको इमेल सङ्कलन गर्ने I एउटा सेल्स पेज अनिवार्य बनाउने । आफ्नो प्रोडक्टको विषय वस्तु अन्तर्गतका इ-बुक, पोडकास्टहरु राख्नु उपयोगी हुन्छ I
दिन ५ : मार्केटिङ प्रक्रिया सुरु गर्ने
सुरुवाती चरणमा मार्केटिङका लागी विषयवस्तु (कन्टेन्ट) तयार गर्ने । भिडियो, इन्फोग्राफिक्सहरु सामाजिक सञ्जाल मार्फत प्रस्तित गर्दा आफ्ना ग्राहक वर्ग बिच बिजनेस प्रमोसन सुरु हुन्छ I
दिन ६ : सेल्सको लक्ष्य (टार्गेट) निर्धारण गर्ने
नियुनतम भए पनि बिजनेसको सुरुवाती दिन देखि नै सेल्स टार्गेट सेट गर्नु पर्छ । पहिलो हप्ताको लागी २/४ वटा ग्राहक वर्गसम्म पुग्ने लक्ष्य राख्न सकिन्छ । तर टार्गेट अनिवार्य हो । टार्गेट नभए नियमित सेल्स गर्ने जाँगर रहँदैन ।
दिन ७ : लौन्च (प्रोडक्ट सार्वजनिक गर्ने)
सातौँ दिनमा कुनै कार्यक्रम वा घोषणा मार्फत आफ्नो बिजनेस लौन्च गर्ने I आफ्नो परिवेश अनुरूपको स्थानीय मिडियालाई प्रेस विज्ञप्ति पठाउने I