बजेट छलफलमा बोल्दा गहिराइमा अध्ययन गरेर बोल्न प्रधानमन्त्रीको निर्देशन

वेलकम खबर
बैशाख १७, २०७६

काठमाडौ, । प्रधानमन्त्री केपी शर्मा ओलीले ललिता निवासको सरकारी जग्गा फिर्ता ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।

मंगलबार नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले जहाँ जोसुकैले सरकारी जग्गा अतिक्रमण गरेको भएपनि सरकारले फिर्ता ल्याउने बताउनुभयो।

अहिले नेकपाको सरकार र पार्टीलाई बदनाम गर्न बालुवाटार जग्गा प्रकरणलाई विरोधीहरुले उचाल्ने कार्यभएको उहाँको भनाइ थियो ।

प्रधानमन्त्रीले भन्नुभयो,–‘नेकपाको सरकार र पार्टीलाई बदनाम गर्न महासचिव पौडेललाई लान्छना लगाइएको छ, तर त्यो जग्गा राजाको शाससनकालमा किनबेच भएको छ त्यो बेला महासचिव कमरेड कुनै पदमा हुनुहुन्नथ्यो, उहाँले सत्ता र पदको दुरुपयोग गरेर जग्गा आफ्नो छोराको नाममा गरेको होइन’

उहाँले बालुवाटार जग्गा प्रकरण, वाइडबडी प्रकरण तथा होटल हायात प्रकरणको स्पष्ट छानबिन गरेर दोषीलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘जहाँसुकै हडपिएको होस, ती सवै जग्गा सरकारले फिर्ता ल्याउँछ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कसलाई नाफा हुन्छ या कसलाई नोक्सान हुन्छ केही हेरिँदैन । सरकारले सत्यत्थ्य बाहिर ल्याउँछ ।’

संघीय संसद भवन नयाँ बानेश्वरमा बैठकलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यका साथ सरकार अघि बढिरहेको पनि बताउनुभयो । अहिले गरिवीको निरपेक्ष रेखामुनी १८ प्रतिशत जनता रहेको भन्दै उहाले अवको केहि समयभित्र कुनै नेपाली गरिवीको रेखामुनी नहुने दाबी गर्नुभयो । उहाले परिणाममा आधारित भएर सरकारमाथिको विश्वास बढेको धारणा पनि राख्नुभयो । मुलुकका ठूला ठूला आयोजना अघि बढेको भन्दै प्रधानमन्त्री ओलीले अवको तीन बर्षभित्र मुलुकका सवै जनताको घरमा बिधुत पुग्ने बताउनुभयो । उहाले मलुकमा लगानीको वातावरण बनेको भन्दै अन्य देशबाट अव लगानी भित्रने दाबी पनि गर्नुभयो ।
बैठकमा ओलीले बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे संसदहरुलाई जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री ओलीले बजेट अधिवेशनमा राष्ट्रपति आउँदा सांसदहरु ढिलो गरी आउने, उठेर हिँड्ने लगायतका गतिविधि गरेको प्रसंग उल्लेख गर्दै अमर्यादित काम नगर्न आफ्ना सांसदहरुलाई निर्देशन दिनुभयो । बजेट छलफलमा बोल्दा गहिराइमा अध्ययन गरेर बोल्न उहाले निर्देशन पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु