मेरो सम्झनामा भीमबहादुर श्रेष्ठ

मोतीलाल बोहरा प्रहरी महानिरीक्षक (अ.प्रा.)
चैत्र ३, २०८१

मोतीलाल बोहरा प्रहरी महानिरीक्षक (अ.प्रा.)
परमेश्वरको अनुपम उपहारको रुपमा प्राप्त भएको मानवचोला पुनः एक दिन ईश्वरमा नै लीन हुन जान्छ । यो प्रकृतिको नियम हो । मनुष्यको नश्वर शरीर नष्ट हुन जान्छ । एक पल्ट विलीन भइसकेको भौतिक शरीर पुनः देख्न सकिदैन, यो ध्रुव सत्य हो तर क्षणभंगुर भौतिक शरीरको अनुपस्थितिमा पनि उनले गरेका सत्कार्य अर्थात जनहितका महान कार्य, कृति अनि राष्ट्र र समाजले पाएको योगदान सदा अविस्मरणीय एवं प्रेरक भइरहन्छ ।
हाम्रा परम स्नेही आदरणीय भीमबहादुर श्रेष्ठको नश्वर शरीर आज भौतिकरुपमा हाम्रा सामु नरहे पनि उहाँको पवित्र आत्मा– जसले सधैँ देशभक्ति र समाज सेवाको गीत गुनगुनाई रह्यो, ताप्लेजुङवासीहरुलाई असल कार्य गर्न अभिप्रेरित गरी रह्यो, राजनैतिक विशेषतः सामाजिक सेवाको फाँटमा एउटा ऐतिहासिक व्यक्तित्वको रुपमा परिचित भयो– सदा अजर अमर रहनेछ । अतः उहाँले गर्नु भएका समाज सेवाका उत्कृष्ट उदाहरणहरु आज ताप्लेजुङवासीका वरिपरी उहाँको प्रतिकको रुपमा जीवितै उभिएका छन् ।
विलक्षण प्रतिभाका धनी अत्यन्त आत्मीय व्यक्तित्व भीमबहादुरश्रेष्ठज्यूसँग मेरो पहिलो आकस्मिक भेट २०२७ सालको भदौ महिनामा ताप्लेजुङको उहाँकै घर पसलमा भएको थियो । मेरो सदर प्रहरी तालिम केन्द्र, काठमाडौंबाट तत्कालीन उत्तरी प्रशासन क्षेत्र ओलाङ्चुङगोला, लुङथुङको प्रहरी कार्यालय प्रमुखको रुपमा सरुवा भयो । विराटनगर, धरान, धनकुटा, हिले, गुफापोखरी, दोभान हुँदै पैदल हिडेर पाँचौ दिन अपरान्ह ताप्लेजुङ (फुङ्लिङ) पुगेको थिएँ । यो मेरो सुदुर पूर्वको पहिलो भ्रमण थियो । मैले आफू जन्मे हुर्केको सुदुर पश्चिमको पहाडी भू–भागभन्दा भिन्दै भूगोल तथा सामाजिक परिवेशमा आफूलाई नितान्त एक्लो महसुस गरी रहेको बेला एक जना अत्यन्त आत्मीय, मृदुभाषी, सहयोगी प्रकृतिका शालीन व्यक्तित्वले ‘तपाई कहाँबाट आउनु भएको हो ? कर्मचारी जस्तो हुनुहुन्छ, कहाँसम्म पुग्नु पर्ने हो, के म केही सहयोग गर्न सक्छु कि ? म भीमबहादुरश्रेष्ठ, यो मेरो फोटो स्टुडियो र घर हो’ भनी आफै परिचय गर्न आउँदा मलाई ढुंगा खोज्दा देउता नै पाए जस्तो लाग्यो । मैले आफ्नो गन्तव्यमा पुग्न २÷३ दिनको अनकन्टार बाटो तय गर्नुपर्छ भन्ने मलाई थाहा थिएन । उहाँले नै ताप्लेजुङदेखि लुङथुङसम्मको बाटो ज्यादै विकट छ । ठाउँ ठाँउमा ठूला–ठूला पहिरो गईरहेका छन् । त्यसैले १÷२ दिन ताप्लेजुङमै बसी आवश्यक सुरक्षा प्रवन्ध मिलाई बाटो घाटोको अवस्था बुझेर मात्र अगाडि बढ्नु उचित होला भन्ने सल्लाह दिनु भयो । मैले जिल्लाको प्रहरी थानाबाट आफ्नो कार्यालयमा आ.वा. म्यासेज पठाएँ । पर्सीपल्ट मलाई स्कर्ट गर्न सुरक्षाकर्मी आई पुगे । भीमबहादुर दाइले भरियाको व्यवस्था मिलाई दिनु भयो र मैले उहाँप्रति आभार प्रकट गर्दै लुङथुङतिर लागेँ । ताप्लेजुङदेखि लुङथुङसम्मको बाटो ज्यादै कठिन भीर पहरा, खोला नाला, बग्दै गरेका पहिरो पार गर्दै आफ्नो कार्यालयमा हाजिर हुन पुगेँ र एक क्षण सोचेँ यी भीमबहादुर भन्ने मनुवा पनि कस्ता रहेछन् ? चिन्नु न जान्नु तर मलाई आफ्नै आफन्तले झैं निःस्वार्थ सहयोग गरे र मेरो मन–मस्तिष्कमा एउटा अभिन्न मित्रको स्थान ओगट्न सफल भए ।
एक दिन अपरान्हतिर उहाँको सानो भ्रमण टोली लुङथुङमा आईपुग्यो । टोलीमा भीमबहादुर, उहाँकी साली निर्मला, चैनपुर संखुवासभाकी भगवती श्रेष्ठ र छोरा दिलिप श्रेष्ठ हुनुहुन्थ्यो । उहाँहरुलाई पाहुँनाको रुपमा पाउँदा म ज्यादै हर्षित भएँ । साँझ उहाँको सम्मानमा मेरै आवास गृहमा शान्त भोजको आयोजना गरियो र स्थानीय शेर्पा नाच हेरेर रमाईलो पनि ग¥यौं । भोलिपल्ट उहाँहरुको ओलाङ्चुङगोलासम्मको भ्रमणको व्यवस्था मिलाएँ । फर्किदा पनि एकरात उहाँहरु लुङ्थुङमै बस्नुभयो र अति रमणीय पुरानो व्यापारिक केन्द्र ओलाङ्चुङगोलाको प्राकृतिक सुन्दरताबाट ज्यादै प्रभावित भएको कुरा सुनाउनु भयो ।

२०२८ साल कार्तिकमा मेरो सरुवा मेची अञ्चलको ओलाङ्चुङगोलाबाट महाकाली अञ्चलको कञ्चनपुरमा भयो । पौष महिना सरुवा भई फर्किदा पनि भीमबहादुर दाइ जस्ता मित्रहरु र प्र.जि.अ.ज्यूको आग्रहमा एक रात ताप्लेजुङमा रोकिएँ । जिल्ला थाना र प्र. जि. अ. ज्यूको सहभागितामा भव्य विदाइ समारोहको आयोजना भएको रहेछ । फोटोग्राफरको भूमिका निभाउनु भएको श्रेष्ठज्यूको समारोहमा विशेष सक्रियता थियो । भोलिपल्ट बजारका अधिकांश घर पसलबाट नरनारीहरुले माला र खादा लगाई विदाइ गर्नु हुँदा भीमबहादुर दाइले हामीलाई बजारदेखि धेरै तलसम्म छोड्न आउनु भई अश्रुपूर्ण विदाइ गर्नु भएको दृश्य यद्यपि मेरो मानसपटलमा अंकित छ ।
सरकारी काम विशेषले म ताप्लेजुङ आउँदा उहाँलाई नभेटी मलाई चित्त बुझ्दैन थियो । उहाँसँगको १५–१६ महिनाको उठवसले मैले उहाँको विषयमा धेरै कुरा थाहा पाएँ । उहाँ सुरू सुरूमा नेपाली काँग्रेसको कट्टर समर्थक भएर २००७ सालको क्रान्तिमा पनि होमिनु भएको रहेछ । २०१७ सालसम्म नेपाली काँग्रेस र तत्पश्चात उहाँ पञ्चायती व्यवस्थाको समर्थनमा लाग्नु भयो र फुङ्लिङ गा.पं. को प्रधानपञ्च पनि हुनु भयो । उहाँको राजनैतिक यात्राको मुख्य उद्देश्य नै समाज सेवा थियो । त्यसैले शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइतर्फ विशेष चासो राख्नुका साथै बाटो–घाटो, पुल–पुलेसा र अन्य भौतिक संरचनाहरुको निर्माण जस्ता समाज सेवाका क्षेत्रमा गरेका थुप्रै कार्यहरुले गर्दा आज पनि उहाँ ताप्लेजुङवासीको मन–मस्तिष्कमा बास गर्न सफल हुनु भएको छ । वास्तवमा उहाँ राजनीतिकर्मी भन्दा पनि विकासप्रेमी, समाजसेवी बढी हुनु हुन्थ्यो ।

भीमबहादुरश्रेष्ठ एउटा उत्कृष्ट शिक्षाप्रेमी हुनु हुन्थ्यो । ताप्लेजुङ जस्तो दुर्गम जिल्लामा पनि शिक्षाको ज्योति फैलाउनमा उहाँको ठूलो योगदान रहेको छ । मेरो जानकारीमा भएसम्म स्व. हर्कजङ मादेन र उहाँकै ससुरा स्व . न्यायाधीश ईन्द्र नारायण श्रेष्ठको पहलमा स्थापना भएको भानु हाईस्कुललाई अगाडि बढाउनमा भीमबहादुर दाइको अतुलनीय योगदान बिर्सन सकिन्न । उहाँले २०१३ सालदेखि २०४६ सालसम्म अटुटरुपमा कहिले सक्रेटरी तथा कहिले विद्यालय सञ्चालक समितिको अध्यक्षको हैसियतले सेवा गर्नुभयो । वास्तवमा स्व. भीमबहादुरश्रेष्ठको समाज सेवाको मुलथलोको रुपमा रहेको भानु हाईस्कुलको भौतिक एवं शैक्षिक विकासमा उहाँले आफ्ना जीवनका झण्डै चारदशकका सुनौला दिनहरु व्यतित गर्नु भएको थियो । सधैँ विद्यालयका गतिविधिहरुलाई निरन्तर नजिकबाट नियालेर शिक्षक र विद्यार्थीहरुका समस्या समाधान गर्न आफै अग्रसर हुने उहाँको बानी थियो । उहाँले विद्यालयमा शैक्षिक गतिविधि बाहेकका विद्यार्थीहरुको अध्ययनमा बाधा पर्ने कुनै अवान्छित कृयाकलाप हुनु हुँदैन भन्ने सोच राख्नु हुन्थ्यो । २०२६÷२७ सालतिर पूर्वाञ्चलका सीमावर्ती जिल्लाहरुमा भारतका नक्सलवादी नेताहरु लुकिछिपी आई नक्सलपंथी राजनीतिको प्रचार प्रसार गर्ने र तिनका मुख्य निशाना शिक्षण संस्थाहरुनै थिए । एकपल्ट मैले भीमबहादुरजीलाई ताप्लेजुङमा भेट्दा इन्सपेक्टर साहेव विद्यालय जस्तो पवित्र थलोमा राजनीतिको फोहोरी खेल नभई दिए राम्रो हुन्थ्यो भनी चिन्ता प्रकट गर्नु भएबाट उहाँ शिक्षाको ज्योति मधुरो नहोस् भनी कति संवेदनशील हुनुहुन्थ्यो भन्ने कुरा प्रष्ट हुन्छ ।

समाजसेवी स्व. भीमबहादुरश्रेष्ठ ताप्लेजुङमा सर्वप्रथम स्थापना भएको बालसंगठनको अध्यक्ष हुनुका साथै बाल सुवोधिनी संस्कृत मा.वि. र वीरेन्द्र मा.वि. समेतको सञ्चालक समितिको अध्यक्ष रहनु भएको थियो । उहाँहरुकै सक्रियतामा पाथीभरा क्याम्पसको स्थापना भयो र २०५५ सालदेखि २०६० सालसम्म उहाँ क्याम्पस सञ्चालक समितिको अध्यक्ष समेत रहनु भयो । यसरी आफ्नो जीवनको उत्तराद्र्धका आखिरी दिनसम्म पनि शैक्षिक क्षेत्रसँग आवद्ध रहेर सबैका लागि एउटा उदाहरणीय तथा अनुकरणीय समाजसेवीको प्रतिमूर्ति सावित हुनु भएको छ ।

अन्तमाः वैयक्तिक चाहना र पारिवारिक सुखलाई भन्दा आफ्नो कर्मक्षेत्रको दायित्वलाई सधैँ प्राथमिकता दिनु हुने स्व. भीमबहादुरश्रेष्ठज्यूले ताप्लेजुङको राजनैतिक तथ सामाजिक सेवाको फाँटमा पुरÞ्याउनु भएको योगदानलाई पुनः स्मरण गर्दै उहाँको दिवंगत पवित्र आत्माको चिरशान्तिको कामना सहित शब्दसुमनद्वारा हार्दिक श्रद्धान्जली अर्पण गर्दछु । अस्तुः ।

– भीमबहादुर श्रेष्ठ स्मृतिग्रन्थबाट

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु