रेमिट्यान्समार्फत बर्षेनि बाहिरिन्छ साढे ४ खर्ब

काठमाडौँ । नेपाल रेमिट्यान्स (विप्रेषण) भित्र्याउने मात्रै होइन बाहिर पठाउने मुलुक पनि हो । नेपालबाट बाहिरिने रेमिट्यान्समा सबैभन्दा ठूलो हिस्सा भारतको छ । भारतले औपचारिक र अनौपचारिक तवरबाट नेपालबाट वार्षिक करिब ४ खर्ब रुपैयाँ रेमिट्यास लैजाने गरेको छ । यद्यपि खुला सीमा र नेपाली बजारमा भारतीय मुद्राको सजिलै कारोबार हुने हुँदा यो रकमको अधिकांश हिस्सा अनौपचारिक रूपमै जाने गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ७ महिनामा औपचारिक तवरबाट ५ अर्बभन्दा केही बढी रेमिट्यान्स भारतसहितका देशमा गएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा साढे ८ खर्ब रेमिट्यान्स भित्रिँदा साढे ४ अर्ब रुपैयाँ बाहिरिएको थियो । यो त औपचारिक रूपमा गएको रकम मात्रै हो । त्यस्तै, आर्थिक वर्ष २०७९/०८० को ७ महिनामा ७ खर्ब भित्रिँदा ४ अर्ब नै बाहिरिएको थियो ।
नेपाल भित्रिने रेमिट्यान्सको करिब एकतिहाइ रकम रेमिट्यान्सकै रूपमा विदेशमा पुग्ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन् । अध्ययनहरूका अनुसार नेपालबाट सबैभन्दा धेरै रेमिट्यान्स भारतले लैजान्छ । भारतका लागि नेपाल रेमिट्यान्स स्रोत मुलुकको सूचीमा आठौँ स्थानमा पर्छ ।
अर्थविद रघुवीर विष्टले नेपालबाट करिब ९५ प्रतिशत रेमिट्यान्स अनौपचारिकरूपमा भारत र बंगलादेश जाने गरेको बताए । उनले भने, ‘बैंकिङ च्यानलमार्फत भारतमा धेरै रकम जाँदैन, खुला सिमाना भएको कारण औपचारिकभन्दा पनि अनौपचारिक रूपमा रकम धेरै जाने गरेको छ ।’ त्यस्तै नेपाली श्रमिकको संख्या भारतमा पनि ठुलो रहेकोले भारतबाट पनि अनौपचारिक रूपमा रेमिट्यान्स आउने गरेको छ ।
सन् २०१७ मा अमेरिकाको वासिंगटनस्थित अनुसन्धान संस्था प्यु रिसर्च सेन्टरले गरेको अध्ययनअनुसार सो वर्ष नेपालबाट विभिन्न मुलुकले करिब ३ खर्ब ९० अर्ब रुपैयाँ रेमिट्यान्सका रूपमा बाहिरिएको थियो । यो अध्ययनले भारत, चीन, भुटान, पाकिस्तान, श्रीलंका र बंगलादेशका लागि नेपाल रेमिट्यान्सको स्रोत मुलुक भएको देखाएको थियो ।
सन् २०१७ मा नेपालबाट भारतमा ३ खर्ब ६३ अर्ब रुपैयाँ रेमिट्यान्स गएको थियो । यो अहिले बढेर ४ खर्बभन्दा बढी पुगिसकेको छ । नेपालबाट चीनले सन् २०१७ मा १५ अर्ब ७९ करोड रुपैयाँ बराबरको रेमिट्यान्स आफ्नो मुलुकमा लगेको तथ्यांकमा देखिन्छ । त्यस्तै, नेपालबाट भुटान, श्रीलंका र बंगलादेशले पनि रेमिट्यान्स लाने गर्छन् ।
नेपालको निर्माण, उद्योग, व्यापारलगायतका थुप्रै क्षेत्रमा भारतीय कामदारको वर्चश्व छ । अर्थविद विष्ट नेपालमा भारतलगायत देशका श्रमिक काम गरिरहेकोले रेमिट्यान्स जानेको र यसलाई अन्यथा लिन नहुने बताए । उनले भने, ‘नेपालमा श्रमिकको समस्या हुँदा भारतबाट धेरै श्रमिक आउने गरेको कारण रेमिट्यान्स बढी नै जाने गरेको हो । नेपाली युवाहरू विदेशिने क्रम बढ्दै गर्दा नेपालमा रोजगारीका लागि भारत, चीनलगायतका देशहरूबाट जनशक्ति नेपाल आउने गरेको छ ।’
आर्थिक गतिविधि चलायमान बनाउन श्रमिकको खाँचो पर्दछ । नेपालमा काम गर्दा भारतीय श्रमिकहरूलाई त्यति फाइदा नभए पनि खुला सिमानाको कारण आवतजावत सजिलो हुने भएकोले उनीहरूको रोजाइ नेपाल परेको विष्टको दाबी छ । उनले भने, ‘नेपालमा १६० कमाउँदा भारतमा १०० मात्र हुने भएकोले उनीहरूले कम मूल्यमा काम गरिरहेको अवस्था छ । तुलनात्मक लाभको हिसाबले हेर्दा उनीहरूलाई फाइदा नहुँदा पनि हामीकहाँ काम गर्न आउनु खुसीको कुरो हो ।’ भारतबाट आउने श्रमिक धेरैजसो दक्ष भएको कारण पनि हामीलाई फाइदा नै रहेको उनको दावी छ ।
त्यस्तै, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले नेपालबाट रेमिट्यान्स जाँदा आर्थिक हिसाबले केही मात्र असर परे पनि नेपालीहरूमा बेरोजगारी बढाउने बताए । उनले भने, ‘नेपालीको लागि स्वदेशमा रोजगारीको प्रश्न ठुलो छ, यदि नेपालमा भारतीय श्रमिकहरू सस्तोमा पायो भन्दैमा काम लगाउँदै जाने हो भने । नेपालीहरूमा बेरोजगारी समस्या बढ्न सक्छ ।’
नेपालीहरू बाहिरिने तर भारतीयहरू आइरहने हो भने नेपालमा सामाजिक र जनसंख्याको समस्या निम्तिन सक्नेतर्फ थापाले सचेत गराए । उनले भने, ‘भारतीय श्रमिक आउँदा भारतलाई खासै असर नगरे पनि नेपालमा भने जनसंख्याको समस्या निम्तिने खतरा छ ।’ सरकारले नेपालीहरू नेपालमै राखेर सबल तथा दक्ष जनशक्ति उत्पादन गर्नतर्फ लाग्नुपर्नेमा थापाले जोड दिए ।
दक्ष जनशक्तिको अभाव भएपछि विभिन्न कार्यालय, होटल, उद्योग, परियोजना र संघसंस्थामा विदेशी कामदारहरू भर्ती हुने गरेका छन् । कतिपय अवस्थामा २ देशका सरकारी निकायहरूबीच भएको सम्झौतामै दक्ष कामदार सम्बन्धित देशबाटै ल्याउने उल्लेख हुन्छ । कतिपय अवस्थामा विज्ञापन गर्दा पनि नेपाली कामदार नपाएपछि विदेशबाटै झिकाउने गरिन्छ ।
पछिल्लो समय जलविद्युत् परियोजनाको निर्माणमा चिनियाँ प्राविधिक कामदारको उपस्थिति बढ्दो छ । यसैगरी, विभिन्न पूर्वाधार परियोजनाको निर्माणमा पनि विदेशी प्राविधिक कामदारको उपस्थिति बढ्दो छ । यसका अलावा नेपालमा सञ्चालित विदेशी लगानीका कम्पनी तथा परियोजनामा पनि विदेशी कामदार छन् ।-souryaonline