योगेश भट्टराईले मागे मदन भण्डारी सडकका लागि बजेट

वेलकम खबर
फाल्गुन २६, २०८१

काठमाडौं । नेकपा (एमाले)का सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले मदन भण्डारी सडकमार्ग (वसन्तपुर–गुफा–ढुंगेसाँघु–दोभान)को स्तरोन्नतिका लागि बजेट व्यवस्थापनको माग गरेका छन् ।

उनले आवश्यक बजेट व्यवस्थापन गर्न भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयसँग आग्रह गरेका हुन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई भेटेर भट्टराईले यो सडक खण्ड ताप्लेजुङ, संखुवासभा र तेह्रथुम जिल्लाबाट धनकुटा, धरान, इटहरी र विराटनगरसम्म आवत–जावतका लागि सहज एवं भरपर्दो भएकाले स्तरोन्नति आवश्यक रहेको स्पष्ट पारेका छन् ।

न्त्री दाहाललाई सडकको विषयमा जानकारी गराउँदै भट्टराईले मेची राजमार्ग र तमोर करिडोर सडक तथा यस क्षेत्रका पुलमा विभिन्न समयमा बाढीपहिरोले क्षति पुर्याएका कारण उक्त मार्ग प्रयोग गर्नुपर्ने अवस्था आइरहेको बताएका थिए । यो मार्ग गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रमा पर्ने हुँदा पर्यटकीय दृष्टिलेसमेत महत्वपूर्ण रहेको भट्टराईको भनाइ छ ।

उनले यो मार्गमा सहज रूपमा यातायात सञ्चालनका लागि चालू आर्थिक वर्षमा काम गर्न ताप्लेजुङ जिल्ला सडक कार्यालयबाट काम हुनेगरी २५ करोड रुपैयाँ र संखुवासभा जिल्ला सडक कार्यलयबाट काम हुनेगरी २५ करोड रुपैयाँ बजेट व्यवस्थापनका लागि मन्त्री दाहालसमक्ष अनुरोध गरेका छन् ।

साथै, आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि यस सडकलाई महत्वका साथ बजेट विनियोजन गर्न पनि भट्टराईले आग्रह गरे । यो मार्ग कोशी प्रदेशको हिमाली जिल्ला ताप्लेजुङलाई तराईसँग जोड्ने विभिन्न सडकमध्ये छोटो र भरपर्दो मानिन्छ ।

उक्त भेटमा मन्त्री दाहालले मदन भण्डारी सडकमार्गको स्तरोन्नति गर्ने विषयमा आफूले प्राथमिकताका साथ काम गर्ने आश्वासन दिएको भट्टराईका स्वकीय सचिव सन्तोष मादेनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु