फाइनलको टिकट तीन घण्टामै सोल्डआउट, खल्तीबाट खरिद भएको भीआईपी टिकट रद्द

वेलकम खबर
कार्तिक १४, २०८१

काठमाडौं। दशरथ रंगशालामा बुधवार साँझ हुने साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलको टिकट विक्री खुला भएको तीन घण्टामै सोल्ड आउट भएको छ ।

बिहान ८ बजेदेखि सुरु भएको विक्री तीन घण्टामै सकिएको अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले जानकारी दिए । भीआईपीतर्फ एक हजार र साधारणतर्फ १० हजार टिकट विक्री गरिएको छ ।

त्यसमध्ये खल्तीबाट खरिद भएका ४१ सय टिकटलाई एन्फाले मान्यता दिँदै ४९ सय टिकट मात्र बुधवार विक्री गरेको छ । भीआईपीतर्फ खल्तीबाट विक्री गरिएका टिकट भने रद्द गरेर एन्फाले आफैले विक्री गरेको छ ।

यसअघि सेमिफाइनलमा भारत र नेपालबीच भएको खेलमा रंगशालाको क्षमताभन्दा बढी टिकट विक्री गरेको भन्दै एन्फाले ठेकेदार कम्पनीसँग सम्झौता रद्द गरेर आफै विक्री गर्ने निर्णय गरेको थियो।त्यसका लागि बुधवार बिहान ८ बजे काठमाडौँ उपत्यकाका विभिन्न तीन स्थानबाट भौतिकरुपमा उपस्थित भएर टिकट खरिद गर्ने व्यवस्था मिलाइएको थियो।ठेकेदार कम्पनीले भने खल्तीसँग सम्झौता गरेर अनलाइनबाट टिकट विक्रीको व्यवस्था गरेको थियो। फाइनलका लागि खल्तीबाट साधारणतर्फ ४१ सय र भीआईपीतर्फ १५ सयभन्दा बढी टिकट विक्री भएको एन्फा प्रवक्ता शाहले बताए।

‘रंगशालाको दर्शक क्षमताभन्दा २० प्रतिशत कम टिकट विक्री गर्नुपर्ने व्यवस्था सुरक्षा व्यवस्थापनका कारण गरिएको छ। त्यसैले हामीले १५ हजार दर्शक क्षमताको रंगशालामा ११ हजार टिकट मात्र विक्री गरेका हौँ’, उनले भने।

प्रवक्ता शाहले भीआईपीका लागि ३ सय र खेलाडीका लागि तीन सय वटा पास व्यवस्था गरिएको पनि बताए।

यसअघि सेमिफाइनलमा भारत र नेपालबीच भएको खेलमा १९ हजारभन्दा बढी दर्शक रंगशाला छिरेका थिए। २ हजारभन्दा बढीले टिकट लिएर पनि खेल हेर्न नपाएको एन्फाले जनाएको छ।

एन्फा प्रवक्ता शाहले सम्झौताविपरित धेरै टिकट विक्री गरिएको पाइएकाले माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालीसँगको सम्झौता रद्द गरिएको बताए।

‘उहाँहरुले बढी टिकट विक्री गरेका कारण सेमिफाइनलमा धेरै सुरक्षा थ्रेट देखियो। त्यही कारण हामीले सम्झौता रद्ध गरेर हामी आफैले विक्री गरेका हौँ’, उनले भने।

नेपाल प्रेश बाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*