कोशी ब्यारेजमा ५६ वर्षयताकै उच्च बहाव

विराटनगर । कोशी ब्यारेजमा सप्तकोशी नदीको बहाव ५६ वर्षयताकै धेरै मापन भएको छ । आज बिहान ३ बजे ६ लाख ४३ हजार पाँच सय ४० क्युसेक मापन भएको थियो । यो सन् १९६८ अक्टोबर ५ तारिखको मापन पछिको धेरै हो ।
१९६८ अक्टोबर ५ मा कोशीमा ७ लाख ८८ हजार दुई सय क्युसेक मापन भएको थियो । त्यसपछि सबैभन्दा धेरै आज बिहान ६ लाख ४३ हजार क्युसेक मापन भएको हो ।
कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार कोशीको जलसतह खतरा तहभन्दा ११.२६ मिटरमाथि पुगिसकेको छ ।
सप्तकोशी नदी जलसतह खतरा तहभन्दा माथि पुगेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तरीका बाढीबाट कटान हुन सक्ने क्षेत्र तथा डुबान हुने होचा भूभागमा नबस्न र उच्च सतर्कताका साथ सुरक्षित स्थानमा जान सप्तकोशी चतरा जलमापन केन्द्रले सूचना जारी गरेको छ ।
पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेजको सबै ५६ ढोका खोलिएको छ । सवारी आवागमनमा रोक लगाइएको छ । ब्यारेजमा पुलमाथिबाट पानी बगिरहेको छ ।
लगातार पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेज भएर मानिस र सवारीसाधनलाई अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि आवागमन बन्द गरिएको सुनसरीका प्रहरी प्रमुख विपिन रेग्मीले जानकारी दिए ।