काठमाडौं । वाणिज्य बैंकहरुले तोकेको नयाँ ब्याजदर आज अर्थात साउन १ गतेदेखि लागू हुने भएको छ । बैंकहरुले साउन महिनाका लागि फरक–फरक ब्याजदर निर्धारण गरेका छन् ।
नेपाल बैंकर्स संघको निर्णयअनुसार आगामी साउन महिनाका लागि वाणिज्य बैंकहरुले आ–आफ्नो अनुकल ब्याजर निर्धारण गरेका हुन् ।
साउन महिनाका लागि केही बैंकहरुले ब्याजदर बढाएका छन् भने केहीले घटाएर प्रकाशन गरेका छन् । साउन महिनाका लागि बैंकहरुले औसत ब्याजदर ९.७२ प्रतिशत कायम गरेका छन् । बैंकहरूले आफ्नो पोजिसन र योजनाअनुरूप ब्याजदर निर्धारण गरेको हुन् ।
गत असार महिनाको तुलनामा पाँच वटा बैंकहरुले मात्र निक्षेपको ब्याजदर बढाएका छन् । साउन महिनाका लागि एनएमबि बैंक, एनआईसी एशिया, प्राइम कमर्सियल, नबिल र कुमारी बैंकले निक्षेपको ब्याजदर वृद्धि गरेका हुन् ।
साउन महिनामा एनएमबि बैंकले अधिकतम १०.९८ प्रतिशत ब्याज दिने भएको छ । यद्यपि, यो १० वर्षभन्दा बढी अवधिको मुद्दति निक्षेपको ब्याजदर हो । तर, सो अवधि कममा भने १०.७५ प्रतिशत ब्याजदर तोकिएको बैंकले जनाएको छ ।
प्राइम बैंकले भने १०.९३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले तीन महिने अवधिको व्यक्तिगत मुद्दति निक्षेपमा सो ब्याजदर प्रदान गर्ने भएको हो ।
यस्तै, एनआईसी एशिया बैंकले पनि ९.९३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले १५ वर्षसम्मको मुद्दति निक्षेपमा सो ब्याजदर प्रदान गर्ने भएको हो ।
यता, नबिल बैंकले भने १०.४९ प्रतिशत ब्याजदर तोकेको छ । तर, सबैभनदा कम स्ट्याण्डर्ड चार्टर्डको छ । बैंकले मुद्दति निक्षेपमा ८.९५ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै, कुमारी बैंकले १०.०१ प्रतिशत ब्याजदर तोकेको छ ।
त्यसैगरि हिमालयन बैंक, ग्लोबल आइएमई नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइज बैंकले मुद्दति निक्षेमा एउटै ब्याजदर अर्थात ९.९९ प्रतिशत तोकेका छन् । यी बैंकहरुले गत असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका हुन् ।
यता, कृषि विकास बैंकले ९.५१ प्रतिशत, सिद्धार्थ बैंकले ९.५० प्रतिशत, प्रभुले ९.५० प्रतिशत र एभरेष्ट बैंकले १० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
आगामी साउनमा सानिमा बैंकले मुद्दति निक्षेपको ब्याजदर ९.२५ प्रतिशत, नेपाल एसबिआईले ९.१० प्रतिशत, माछापुच्छ्रेले ९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ८.९९ प्रतिशत, नेपाल बैंकले ८.९९ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।
बैंकहरुले बढी १० प्रतिशत ब्याजदर थपघट गर्न पाउने व्यवस्था छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले अघिल्लो महिनामा कायम ब्याजदरमा बढीमा १० प्रतिशत घटबढ गर्न पाउँछन् । संस्थागत मुद्दतीमा व्यक्तिगत मुद्दतीको तुलनामा २ प्रतिशत विन्दु कम र रेमिट्यान्सलाई १ प्रतिशत विन्दु बढी ब्याज दिनुपर्ने व्यवस्था छ ।
कुन बैंकले कति दिने भए ब्याज ?
