सहकारीको ऋण नतिर्नेलाई कठोर कानुनी कारबाही गर्ने पाेखरा महानगरकाे चेतावनी

कास्की : पोखरा महानगरपालिकाले सहकारी संस्थाको ऋण नतिर्ने ब्यक्तिलाई महानगरपालिकाले प्रदान गर्ने सेवा सुविधा रोक्का गर्ने जनाएको छ । महानगरपालिकाले आज (असार २४ गते) एक सूचना प्रकाशित गर्दै सहकारीको ऋण नतिर्ने ब्यक्तिलाई कठोर कानुनी कारबाही गर्ने चेतावनी दिएको हो ।
ऋणीले निर्देश विपरित कार्य गरेमा पोखरा महानगरपालिका सहकारी ऐन, २०७५ को दफा ६० वमोजिम जायजेथावाट असुलीका लागि प्रकृया अगाडि बढाउने महानगरले जनाएको छ । ‘कोही कसैले आफूले लिएको ऋण तिर्नु नपर्ने कल्पना गरेका भएमा त्यो आफैका लागि प्रत्युत्पादक हुने र त्यस्ता गतिविधि नियन्त्रण गर्न पोखरा महानगरपालिकाबाट हदैसम्म कठोर कानुनी कारवाही गरिने कुरा स्पष्ट पार्न चाहन्छ,’ सूचनामा भनिएकाे छ ।
महानगरपालिकाले आफ्नो क्षेत्रधिकार भित्रका सहकारी संस्थाहरुका सम्पूर्ण ऋणी शेयर सदस्यहरुलाई समयमै ऋणको साँवा, व्याज, किस्ता भुक्तानी गर्न आग्रह गरेको छ ।