कोशी पहाडी जिल्लामा बाढीका कारण अर्बौंको क्षति, ८ सय १० जना विस्थापित

वेलकम खबर
असार ६, २०८०

सुनसरी । कोशी प्रदेशका पहाडी जिल्लाहरूमा आएको बाढी र पहिरोका कारण अर्बौं रुपैयाँको क्षति भएको छ । पाँचथर, ताप्लेजुङ र संखुवासभामा गएको शनिबार रातिदेखि आएको बाढी पहिरोका कारण सबैभन्दा बढी जलविद्युत् आयोजनामा क्षति पुगेको प्रदेशस्तरीय आपत्कालीन केन्द्रले बुधबार इटहरीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीका पृतनापति आशबहादुर तामाङले बाढीबाट २९ वटा पुलमा क्षति पुगेको जानकारी दिए । हेवाँ, पिलुवालगायतका खोलामा आएको बाढीका कारण १५ वटा मझौला र लघु जलविद्युत् आयोजनामा पूर्ण रूपमा क्षति पुगेको आपत्कालीन केन्द्रका संयोजकसमेत रहेका पृतनापति तामाङले जानकारी दिए । बाढी र पहिरोका कारण पाँचथरमा ५, संखुवासभामा ८ र ताप्लेजुङमा २ वटा जलविद्युत् आयोजनामा पूर्ण रूपमा क्षति भएको छ ।

पाँचथर फिदिम नगरपालिका ११ मा रहेको १४ मेगावाटको माउन्टेन बी र वडा नम्बर १० मा रहेको २१ मेगावाटको माउन्टेन ए जलविद्युत् आयोजना बाढीका कारण पूर्ण रूपमा क्षति भएको छ । यस्तै पाँचथरको याङ्वरक ४ मा रहेको रोइराङ जलविद्युत् आयोजनाको ड्याम पूर्ण रूपमा क्षति पुगेको छ । यस्तै पाँचथरको याङ्वरक ४ मा रहेको इवा खोला हाइड्रो पावरमा पनि पूर्णरूपले क्षति पुगेको छ । बाढी र पहिरोका कारण ताप्लेजुङको सिरिजंगा गाउँपालिका याम्फुदिनमा रहेको तुमिया खोला जलविद्युत् आयोजना, मेरिङदेन गाउँपालिका ५ मा रहेको युनाइटेड जलविद्युत् आयोजनाको ड्याममा क्षति पुगेको छ ।

संखुवासभाको चैनपुर ४ मा निर्मणाधीन सुपर हेवा हाइड्रो, चैनपुर २ तिखीढुङ्गामा रहेको मेन्छेयाम जलविद्युत् आयोजना, चैनपुर ७ पिलुवा खोलामा रहेको अरुण भ्याली हाइड्रोमा समेत क्षति पुगेको छ । यस्तै धर्मदेवी नगरपालिका ४ गैरीगाउँ खहरेस्थित मायाखोला हाइड्रो, धर्मदेवी ४, ६ र ७ को बिचमा पर्ने डाउन पिलुवा हाइड्रो, चैनपुर ७ मा रहेको शुभम् पावर (लोर पिलुवा) जलविद्युत् आयोजनामा पनि बाढी र पहिरोले क्षति पु¥याएको छ । बाढी र पहिरोले मादी नगरपालिका ७, ८, ९ को बिचमा पर्ने अपर पिलुवा हाइड्रो र पाँचखपन नगरपालिका ८ कोकले बेँसीमा रहेको वरुण हाइड्रोपावर कम्पनीमा पूर्णरूपले क्षति पुगेको छ ।

बाढी र पहिरोका कारण अहिलेसम्म ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । बाढी र पहिरोबाट घाइते भएका ६ जनामध्ये ५ जनाको डिस्चार्ज भएको छ भने एक जनाको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेमा पाँचथरका ३ जना, ताप्लेजुङका ३ जना, संखुवासभाका २ जना र भोजपुरका १ जना रहेको आपत्कालीन केन्द्रका सदस्यसमेत रहेका कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले बताए । मृतक परिवारलाई बिहीबारसम्म क्षतिपूर्ती उपलब्ध गराइसक्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव अर्जुन निरौलाले बताए । संखुवासभामा २१, पाँचथर र ताप्लेजुङमा ३–३ जना गरी २७ जना अहिलेसम्म बेपत्ता भएका छन् । उनीहरूको खोजी कार्य जारी राखिएको सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी पोखरेलले बताए ।

बाढी र पहिरोका कारण अहिलेसम्म कोशी प्रदेशका पहाडी र हिमाली जिल्लामा २ सय ११ घरका ८ सय १० मानिस विस्थापित भएका छन् । बाढीपहिरोका कारण सबैभन्दा बढी पाँचथरमा ९३ घरका ४ सय ४० मानिस विस्थापित भएका छन् । बाढी र पहिरोका कारण ताप्लेजुङमा १ सय २ घरका ३ सय ७ जना, संखुवासभामा १६ घरका ६३ जना विस्थापित भएका छन् । उनीहरूलाई सुरक्षित स्थानमा राखिएको र आवश्यक खाद्यान्न, औषधि तथा लत्ताकपडा उपलब्ध गराइएको पृतनापति तामाङले बताए । बुधबार मात्रै नेपाली सेनाको हेलिकोप्टरबाट ३६ प्रकारका ३२ कार्टुन औषधि, त्रिपाल र अन्य खाद्यान्न प्रभावित जिल्लामा पठाइएको तामाङले जानकारी दिए । बुधबारसम्म संखुवासभाका २४, पाँचथरका १०, ताप्लेजुङका ६ र इलामका ३ वटा गरी ४३ वटा घरमा पूर्णरुपमा क्षति भएको छ ।

बाढी पहिरोले मेची राजमार्गसहित कोशी प्रदेशका १६ वटा सानाठुला सडक अवरुद्ध भएका छन् । बाढी र पहिरोका कारण सबैभन्दा बढी पाँचथरमा ७ वटा सडक अवरुद्ध भएका छन् । पहिरोका कारण ताप्लेजुङमा ५, इलाममा १ र संखुवासभामा ३ वटा सडक अवरुद्ध छन् । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको र मेची राजमार्ग भने मर्मतपछि आंशिक रूपमा सुचारु भएको जनाइएको छ । बाढी र पहिरोका कारण २९ वटा पुलमा क्षति पुगेको छ । पाँचथरमा १५, संखुवासभामा ५ र ताप्लेजुङमा ९ वटा पुलमा क्षति पुगेको छ । तीमध्ये १५ वटा पक्की र १४ वटा कच्ची पुल रहेका छन् ।-ekantipur

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु