अप्पर लोहोरे हाइड्रोको आईपीओ असार ७ गतेदेखि खुल्दै, क-कसले भर्न पाउँछन् ?

काठमाडौ । अप्पर लोहोरे हाइड्रोपावर कम्पनी लिमिटेडले असार ७ गते बिहीबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले पहिलाे चरणमा वैदेशिक राेजगारीमा गएका नेपालीहरू र आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि आईपीओ निष्कासन गर्न लागेकाे हाे ।
कम्पनीले जारी पुँजीको १०% अर्थात् ५ करोड ९ लाख ८० हजार रुपैयाँ बराबरको ५ लाख ९ हजार ८०४ कित्ता आईपीओ स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो । जसमध्ये २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा दैलेख जिल्लाको अति आयोजना प्रभावित क्षेत्र नौमुले गाउँपालिका वडा नं ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । बाँकी २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा नौमुले गाउँपालिका वडा नं ३ का बासिन्दा बाहेक दैलेख जिल्ला बासीले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
यस्तै, सर्वसाधारणका लागि छुट्याइएको आईपीओको १०% ले हुन आउने १ करोढ ९८ लाख ८२ हजार ४ सय रुपैयाँ बराबरको १ लाख ९८ हजार ८ सय २४ कित्ता आईपीओ वैदेशिक राेजगारीमा गएका नेपालीहरुका लागि निष्कासन गर्नेछ ।
कति दिने आवेदन ?
दुवै समूहका लगानीकर्ताले यस कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।
कहिलेसम्म दिने आवेदन ?
याे आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले छिटाेमा असार २१ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने असार २१ गतेभित्र आवेदन दिनु पर्नेछ ।
काे हाे बिक्री प्रबन्धक ?
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
रेटिङ कति ?
रेटिङ एजेन्सी केयर नेपालले यो आईपीओलाई केयर एनपी डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।
कहाँबाट दिने आवेदन ?
स्थानीय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।