सेयर बजारमा फर्कियो रौनकता, कारोबार रकम साढे ३ अर्ब नजिक

काठमाडौं । नेप्से सूचक आइतबार ४०.४८ अंकले बढेर १९८०.०९ विन्दुमा आएको छ । झन्डै साढे ३ अर्ब रुपैयाँ (३ अर्ब ४१ करोड) को सेयर कारोबार भएको छ । यस दिन २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।
समग्रमा हेर्दा सेयर बजारमा विस्तारै सकारात्मक माहोल देखिएको छ । सूचकसँगै दैनिक खरिदबिक्री रकममा पनि बढोत्तरी भएपछि लगानीकर्ता उत्साहित भएका हुन् । असार महिना पनि नजिकिएको छ । सामान्यतयः यो सेयरको सिजन पनि हो । चरम बियरिसमा बाहेक जेठ–असारमा सामान्यतण्ः बजारमा चमक आउने गरेको देखिन्छ ।
यस्तै, बजार घटेको करिब २२ महिना भइसकेकाले पनि अब यसले आफ्नो प्रवृत्ति परिवर्तन गर्न लागेको भन्नेहरु पनि उत्तिकै छ । यद्यपि, बजार एकोहोरो हिसाबले चल्दैन । तलमाथि भइरहने प्रवृत्ति हुन्छ । तथापि, बियरिसको लामो चक्र पूरा गरेकाले अब औसत ट्रेन्ड बुल बाटोतिरै हुने विश्लेषकहरु बताउँछन् ।
बजारमा वियरिस चक्र सकिएर विस्तारै बुल रनमा प्रवेशका लागि केही महत्वपूर्ण आधारहरु पनि तय भएको जानकारहरु बताउँछन् । यसको सबैभन्दा पहिलो र महत्वपूर्ण आधार भनेको बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको तरलता र घट्न थालेको ब्याजदर नै हो । ब्याजदर घट्न थालेपछि सेयर बजार विस्तारै बढ्न सुरु गर्ने अनुभवीहरु बताउँछन् ।
यस्तै, अर्थतन्त्रका बाह्य क्षेत्रहरुमा राम्रो सुधार हुँदै गएको रिपोर्ट केन्द्रीय बैंकले सार्वजनिक गरेको छ । यसले पनि सेयर बजारमा सुधारका लागि थप मनोबल बढाउन सक्ने देखिन्छ । यही नै अब बजार क्रमशः माथितिर लाग्ने आधार मानिएको छ ।
तर आम लगानीकर्ताले राम्रो वित्तीय अवस्था भएका, लाभांश दिन सक्ने कम्पनीमा लगानी गर्न जानकारहरु सुझाव दिने गरेका छन् । अलि लामो समय होल्ड गर्न सक्ने हिसाबले मात्र सेयर खरिद गर्नुपर्ने, जोखिम बहन क्षमतमा ख्याल गर्न पनि उनीरुले सुझाव दिने गरेका छन् । गएको साता पनि समग्र बजार ३.९३% ले बडेको थियो ।
नेप्सेले २२ महिनाको अवधिमा आम लगानीकर्तालाई धेरै प्यानिक बनायो । यसबीचमा लगानीकर्ताले बजार पुँजीकरणका आधारमा हेर्दा खरबौं रुपैयाँ गुमाउन पुगे । करिब ४५ खर्ब पुगेको पुँजीकरण २६ खर्बकै लाइनमा झर्यो । यस्तै, करिब ३२ पुगेको नेप्से सूचक झरेर १८०६ विन्दुमै आयो ।
कर्जा लिएर लगानी गरेकालाई मार्जिन कल आउन थाल्यो । यसआधारमा हेर्दा बजारमा ठूलो गिरावट आयो । लगानीकर्ता ठूलो रकम गुमाउनुपर्यो । यसरी बजार तल झरेको पनि करिब २ वर्ष पुग्न लागेको छ । हाम्रो बजारको निश्चित चक्रलाई आधार मान्ने हो भने पनि अब विस्तारै वियरिस चक्र पूरा हुन लागेको कपितय विश्लेषकहरुले बताएका छन् ।
यस दिन २७५ कम्पनीको ९५ लाख २८ हजार कित्ता सेयर कारोबार भएको छ । ११ करोड ४७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नागरिक लगानी कोष अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्टस् र आइजीआई प्रुडेन्सियल इन्सुरेन्स रहेका छन् ।