धमाधम मर्ज हुँदै वाणिज्य बैंक

काठमाडौं । मुलुकमा धमाधम ठूला बैंकबीच आपसमा मर्ज हुने एवं एकआपसमा गाभिनेक्रम बढेसँगै वाणिज्य बैंकहरूको संख्या २८ बाट घटेर अब जम्मा १८ वटामा झरेको छ ।
यसअघि नेपाल राष्ट्र बैंकले दिएको मर्जर सुविधा एवं पहलपछि हाल धमाधम ठूला बैंकहरूबीच यस्तो मर्जर एवं आपसमा गाभिने क्रमले तीब्रता पाएको हो । यही लहरसँगै अब वाणिज्य बैंकहरूको संख्या घटेर १८ वटामा झर्ने देखिएको हो । मर्ज हुनेक्रममा सोमबार मात्रै ग्लोबल आईएमई बैंक र बैंक अफ काठमान्डु (बीओके) गाभिएर एकीकृत कारोबार सुरु गर्दै छन् । यस्तैक्रम अन्य बैंकले यो साताभर जारी राख्ने भएका छन् ।
एकीकृत कारोबारका लागि सेवा बन्दले निक्षेपकर्ता प्रभावित
यसरी मर्ज भई एकीकृत कारोबार सञ्चालन गर्न केही बैंकले आफ्ना निक्षेपकर्तालाई आन्तरिक सफ्टवेयरको काम मिलाउन भन्दै केही दिन बैंकिङ कारोबार सेवा नै बन्द हुने बताइरहेका छन् । जसका कारण निक्षेपकर्ताले अझै एकदुई दिन आफ्नो खातामा भएको पैसासमेत झिक्न पाउनेछैनन् ।
पछिल्लोपटक २७ वटाबाट झरेर २१ वटामा आइपुगेको वाणिज्य बैंकहरूको संख्या ग्लोबल आईएमई बैंक र बैंक अफ काठमान्डु (बीओके) बीच मर्ज भएपछि २० मा झर्ने छ । आगामी मंगलबार प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक गाभिनेछन् । यस्तै आगामी बुधबार नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल पनि एकआपसमा गाभिएर एकीकृत कारोबार थाल्ने जनाइएको छ । त्यसपछि हिमालयन बैंक र सिभिल बैंकले पनि मर्जरका लागि वार्षिक साधारणसभा डाकेका छन् ।
आगामी साता लक्ष्मी र सनराइज बैंकबीच मर्जरको सम्झौता हुँदै छ । यसअघि नेपालमा कुनैबेला वाणिज्य बैंकहरूको संख्या धमाधम बिस्तार भएर ३२ वटासम्म पुगेको थियो । त्यतिबेला सरकारले नयाँ लाइसेन्स बाँडिएको तथा ‘ख’ र ‘ग’ वर्गका संस्थालाई स्तरोन्नति गर्न दिइएका कारण संख्या बढेको थियो ।
नियामक निकाय नेपाल राष्ट्र बैंकले चार वर्षदेखि ‘बिग मर्जर’ योजना अघि सारेको हो । तत्कालीन राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले चुक्ता पुँजी वृद्धिको योजना बैंक संख्या घटाउनका लागि लिएका थिए । तर, त्यतिबेला राजनीतिक दबाबले हकप्रद दिने व्यवस्था गर्न उनी बाध्य भए । जसका कारण सो समय बैंकहरूको संख्या यसरी घटेको थिएन ।
त्यतिबेला नै तत्कालीन गभर्नर नेपालले आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीतिमा ‘बिग मर्जर’ लाई प्राथमिकतामा राखेर केही सहुलियत घोषणा गरेका थिए । उनको नीतिलाई अहिलेका गभर्नर महाप्रसाद अधिकारीले पहिलो मौद्रिक नीतिबाटै प्राथमिकतामा राखेका थिए । तर, लामो समय जारी रहेको कोरोना विश्व महामारी र लकडाउनका कारण सो योजना अघि बढ्न सकेन ।
– २८ बाट १८ मा झर्दै
– ११ वटा बैंकले अस्तित्व गुमाए
– राष्ट्र बैंकको नीति मर्जरमा सहयोगी
दोस्रो र तेस्रो मौद्रिक नीतिपछि गभर्नर अधिकारीले मर्जरलाई प्रोत्साहित गर्ने भन्दै ‘वान टु वान’ कुराकानी गरेपछि बैंकहरू दबाबमा परेका हुन् । अर्कोतिर विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूको कार्यकालका कारण पनि हाल बैंकहरूबीच यस्तो मर्जर एवं एकआसपमा गाभिने क्रमले प्राथमिकता पाएको हो ।
अहिले मर्जरमा गएका बैंकहरूका प्रमुख कार्यकारीहरूको दुई कार्यकाल पूरा हुन लागेको छ । मर्जरमा नजाने हो भने कार्यकाल थप्न मिल्दैन । तर, मर्जरका कारण आगामी एक कार्यकाल थप्ने सहुलियत छ । सोही कारण पनि मर्जरमा बैंकहरू तातिएका हुन् ।
राष्ट्र बैंकले हाल सानिमा बैंक र माछापुच्छे बैंकलाई मर्जरका लागि ताकेता गरिरहेको छ । हाल राष्ट्र बैंकले सिद्धार्थ, प्राइम, सिटिजन्स, एभरेष्ट बैंकलाई पनि मर्जरमा जान प्रोत्साहित गरिरहेको जनाएको छ ।
विभिन्न कारणले समस्यामा परेका बैंकहरूलाई सहज रूपमा आफ्नो लगानी सुरक्षित गरी मर्जमा जाने अवसर राष्ट्र बैंकले गरिदिएपछि अहिले विभिन्न बैंक तथा वित्तीय संस्थाबीच धमाधम मर्जरमा जाने लहर नै चलेको हो । यस्तो लहरका कारण यो साता मात्र धेरै बैंकहरूबीच मर्ज भई एकीकृत कारोबार सुरु भइरहेका कारण अहिले विभिन्न बैंकमा खाता खोल्ने निक्षेपकर्ता प्रभावित भएका छन् ।
पछिल्लो समय नबिल र नेपाल बंगलादेश (एनबी) बैंक, कुमारी र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक गाभिएका थिए भने लक्ष्मी र सनराइज बैंक गाभिने क्रममा छन् ।rajdhanidaily