पौडेल छैटौं पटक सिंहदरबारमा, अर्थमा ‘ह्याट्रिक’

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री विष्णु पौडेलले सोमबारबाट छैटौं पटक मन्त्रीका रूपमा सिंहदरबारको यात्रा सुरु गरेका छन् । तेस्रोपटक अर्थमन्त्रालय सम्हालेका उपप्रधानमन्त्री विष्णु पौडेल एमालेबाट पटक(पटक मन्त्री बन्ने एमाले नेतामा पर्छन् ।
वर्तमान गठबन्धन निर्माण गर्न सुरुदेखि नै सक्रिय रहेका ६३ वर्षका पौडेल एमालेको गत वर्ष भएको महाधिवेशनबाट उपाध्यक्ष बनेका हुन् । सत्ता समीकरण निर्माण गर्न चलाख मानिने पौडेल केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दुई पटक अर्थमन्त्री बनेका थिए ।
पहिलोपटक पटक उनी २०५३ सालमा पहिलो पटक युवा खेलकुद तथा संस्कृति मन्त्री भएका थिए । त्यसैगरी पुष्पकमल दाहाल पहिलो पटक प्रधानमन्त्री बन्दा २०६५ सालमा पौडेल जलस्रोतमन्त्री बनेका थिए । त्यसैगरी झलनाथ खनालको नेतृत्वमा २०६७ सालमा बनेको मन्त्रिपरिषद्मा पौडेल रक्षामन्त्री थिए ।
२०७२ सालमा एमाले अध्यक्ष हुँदा बनेको मन्त्रिपरिषद्मा पौडेल अर्थमन्त्री थिए । त्यसैगरी २०७७ सालमा पनि ओलीकै नेतृत्वमा बनेको सरकारमा पौडेल अर्थमन्त्री बनेका थिए ।
२०३५ सालमा अखिल नेपाल कम्युनिस्ट कोअर्डिनेसन कमिटीबाट राजनीति सुरु गरेका पौडेल ११ वर्ष भूमिगत बसेका थिए । २०४१ सालमा रुपन्देही जिल्ला कमिटीको सचिव बनेका पौडेलले २०४७ सालमा एमालेको केन्द्रीय सदस्य रहँदै आएका छन् ।
त्यसैगरी २०५९ सालमा एमालेको स्थायी कमिटीका सदस्य बनेका पौडेल २०६५ सालमा भएको एमालेको आठौं महाधिवेशनमा सचिवमा निर्वाचित भएका थिए । नवौं महाधिवेशनमा उपमहासचिवमा निर्वाचित भएका पौडेल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरणपछि गठन भएको नेकपाको महासचिव भएका थिए ।
गत वर्ष चितवनमा भएको एमालेको दसौं महाधिवेशनमा उपाध्यक्षमा चयन भएका पौडेल पाँचौं पटक सांसद बनेका हुन् । सुरुमा पाल्पाबाट निर्वाचित भएका पौडेल त्यसपछि रुपन्देहीबाट निर्वाचित हुँदै आएका छन् । २०३७ सालमा ३ वर्ष जेल र ३ हजार रुपैयाँ जरिवानाको सजाय पाएका पौडेलले ४५ दिनमा जेल विद्रोह गरेका थिए । २०१६ मंसिर १५ मा स्याङ्जामा जन्मिएका लामो समयदेखि रुपन्देहीको बुटबलमा बस्दै आएका छन् ।ekantipur